खेल

‘म्याच’ नभएसम्म ‘डाइट’ पनि दिइँदैन फुटबल खेलाडीलाईः कप्तान बिराज महर्जन

biraj-maharjan-nepalaaja

मंसिर ४ । नेपालले सन् २०१६ मा फुटबलमा एकपछि अर्को उपाधि हात पार्‍यो । बंगबन्धु कप, साग कप र सोलिडारिटी कप । एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा च्याम्पियन नभएको नेपालले यही बर्ष उपाधिमाथि कब्जा जमायो । जबकी यो बर्ष नेपालको फुटवल संक्रमणकालमा रुमल्लिने अनुमान गरिएको थियो ।

यसअघिका क्याप्टेन सागर थापालगायतका चल्तिका खेलाडी म्याच फिक्सिङको आरोपमा निलम्बनमा परेका थिए । खेलकुद क्षेत्रका बादशाह गणेश थापा भ्रष्टाचारका कारण बर्खास्त गरिएका थिए । अनुभवी खेलाडी र नेतृत्व विस्थापित भएको सन्र्दभमा विराज महर्जनले कप्तानी सम्हालेका थिए ।

मैदानमा खासै नचम्केका र अनुभवले पनि नखारिएका खेलाडीलाई लिएर विराज एकाएक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बाहिर निस्के । देशभित्र प्रतियोगिता नभएको २ बर्ष भएकाले खेलाडीको खास क्षमता पनि थाहा पाउनबाट फुटबल प्रेमी बञ्चित थिए । बिराज आफैँले पनि राष्ट्रिय टिमबाट खेल्न थालेको सात बर्षसम्म कुनै उपाधि चुम्न पाएका थिएननन् । ‘राम्रो खेल्दा खेल्दै पनि उपाधि चुम्न पाउँदैनथ्यौं, साथीभाइसँग पीडा पोख्यो, बस्यो ।’ पत्रकार नारायण पौडेलसँग टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा विराजले व्यथा कहे ।

निराशाको चरमचुलीबाट गुज्रिएको त्यहीबेला नेपालले एकपछि अर्को बाजी मार्दै चमत्कार गर्न थाल्यो । एक बर्षमा लगातार तीन अन्तर्राष्ट्रिय उपाधि चुमेर नेपालले नयाँ इतिहास बनायो । सँगै, पहिलो पटक महादेशीय प्रतियोगिता (सोलिडारिटी कप) जितेर नेपालले आफ्नो भविश्य जवरजस्त रहेको सन्देश दिन सक्यो ।

‘खास जादु के छ ?’ प्रश्नको जवाफ विराज सरल हिसावले दिन्छन्, ‘टिमको एकता । सबैले जसरी पनि जित्नै पर्छ, नजिते हाम्रो भविश्य छैन भन्ने भावको साथ खेल्नु नै जितको आधार हो ।’ विराजका अनुसार भोलिका दिनमा नेपालले यसैगरी जित्छ भन्न सकिदैनँ । किनकी जितका लागि प्रयाप्त आधार छैन । पहिलो कुरा त खेलाडीलाई डाइट अर्थात पोषिलो खानेकुरा नै छैन । जुन खेलाडीको खेलमा देशको प्रतिष्ठा र आम नेपालीको खुशी जोडिएको छ, तिनै खेलाडीले पर्याप्त खान पाउँदैनन् ।

विराज व्यथाको पोको विस्तारै खोल्छन्, ‘खेल शुरु भएपछि मात्रै डाइट दिइन्छ, शरीरले डाइट नलिदै खेल शुरु हुन्छ ।’ विराजको कप्तानी अपत्यारिलो शैलीमा ऐतिहासिक बनेको छ । तीन अन्तर्राष्ट्रिय उपाधि चुमेका उनको ध्यान अब साफ च्याम्पियनमा छ । ‘सार्क क्षेत्रको च्याम्पियन हामी बन्न सक्छौँ, ध्यान त्यसैमा छ । तर, देशभित्र आन्तरिक प्रतियोगिता छैन । भएको एउटा रंगशाला पनि भत्केको छ । समस्या धेरै छन्, तर जितेरै छाड्नु छ ।’ विराज आफ्नो टिमलाई विश्वास गर्छन, ‘सेवा सुविधा नभए पनि हामी टिम मिलेका छौँ । टिमले जित्छ ।’

नयाँ खेलाडी उत्पादनका लागि घरेलु प्रतियोगिता हुनुपर्छ । क्लब– क्लबका बीचमा हुने प्रतियोगिताबाट राम्रा खेलाडी छानिने हो । लिग खेल नभएकै झण्डै तीन बर्ष भइसकेको छ । पहिले पहिले हुने गरेको प्रधानमन्त्री कप पनि भएको छैन । क्लबहरुको स्थिति डामाडोल छ । यी सबै परिस्थितिका बीच नेपाली टिम चम्किरहेको छ । विराज चिन्ता व्यक्त गर्छन्, ‘सधैँ यस्तो हुँदैन । दीर्घकालिनरुपमा टिमलाई मजबुत बनाउन खेल र खेलाडीमा लगानी गर्नैपर्छ । जितेपछि यति दिन्छौँ भन्ने गरिन्छ तर जित्नका लागि यो गर्छु भन्ने भएन ।’

विराजका अनुसार काठमाडौँमा भाडा गरी बस्ने खेलाडीलाई घरभाडा तिर्नै धौ धौ छ । ‘भविश्यप्रति आशा गर्ने ठाउँ पनि कम छ । आफ्नो नाम, परिवार र देशको प्रतिष्ठाका लागि मात्र खेलेका छौँ ।’ काठमाडौंका रैथाने विराज भन्छन्, ‘मेरो घर काठमाडौमा छ । मेरो दाजु र काका फुटवलर हो । मलाई परिवारले बुझेको हुनाले सजिलो छ ।’

उनी जीतमा जस्तै हारमा पनि साथ दिन समर्थकलाई अपिल गर्दछन् । लभअफेर्यसमा रहेका २८ बर्षिय विराज दुई तीन बर्ष अझ फुटबलसँगै मस्ती गर्ने सुरमा छन् ।

विशेष