विचार

यस पटक पनि महिला राष्ट्रपति चयन गरेन अमेरिकाले

यस पटक पनि महिला राष्ट्रपति चयन गरेन अमेरिकाले
  Trump Hilary
मंसिर - ४ । अमेरिकामा ४५ औँ राष्ट्रपति पदका लागि गत नोभेम्बर ८ मा सम्पन्न भएको निर्वाचनमा समग्र विश्व र बहूसंख्यक अमेरिकीले लगाएको अड्कल फरक परेको अनुभूति गरियो । चुनावी प्रचार प्रसार अभियानको क्रममा कम सभ्य शैलिमा, आक्रामक शव्दवाणबाट आफ्ना विपक्षी र अन्य समुदायलाई अनेक लान्छना लगाउनुहुने अमेरिकी खर्बपतिको रूपमा परिचित, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति पदमा निर्वाचित भए । अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लाग्नुभएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार रोधाम हिलारी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु परेकोे छ । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिलाको विजय हुन सकेन । अमेरिकी राजनीतिमा दीर्घकालसम्म वर्चश्व कायम राख्न सफल हिलारी क्लिन्टन विश्वका उच्चपदमा पुग्न सफल थोरै महिलाहरुमध्ये एकमा नामाङ्कित छन् ।
संयुक्त राज्य अमेरिकाका ४२औँ राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित छन् । उनले सन् २००० को नोभेम्बर ७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको सिनेटरका रुपमा निर्वाचित भई सन् २००१ देखि २००९ को सुरुवातसम्म सो जिम्मेवारी बहन गरेका थिए । वास्तवमा उनको सक्रिय राजनीति त्यही सिनेटर पदसँगै सुरु भएको हो । त्यसपछि, वर्तमान राष्ट्रपति बाराक ओमाबाको पहिलो कार्यकालमा अर्थात् सन् २००९ को जनवरी २१ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाई सन् २०१३ सम्म त्यसलाई उत्कृष्टतापूर्वक बहन गर्न सफल भएका थिए । पदीय दायित्वका हिसाबले अमेरिकी विदेशमन्त्रीको पद अत्यन्त जटिल र चतुरताका साथ सम्हाल्नु पर्ने र मर्यादाका हिसाबले यस पदले अन्यभन्दा सदैब उच्च स्थान ओगट्ने गरेको छ । उनले विदेशमन्त्रीको हैसियतले अमेरिका बाहिर भ्रमणमा गएका बखत त्यहाँको समस्या सुल्झाउने अभिप्रायका लागि गरेका कतिपय प्रयास अमेरिकी इतिहासको रेकर्डलाई नै तोड्ने खालका थिए । यसरी लामो समयसम्म गरिमामय पद सम्हालेर क्रान्तिकारी र उत्कृष्ट कार्य सम्पादन क्षमता र शैलिको प्रदर्शन गर्नु भएकीले उनी अमेरिकाको एकजना प्रभावशाली र मेधावी महिला नेत्रीको रुपमा पनि परिचित भई आम अमेरिकी नागरिकबाट मनग्ग्य प्रशंसा बटुल्न सफल भएकी थिइन् । तर सन् २०१६ को नोभेम्बरमा सम्पन्न निर्वाचनमा अमोरिकी नागरिकको चयनमा भने उनी पर्न सकिनन् । यद्यपि, लोकप्रिय मत (पपुलर भोट) को हिसाबमा हिलारी अगाडी नै परेकी छन् । अमेरिकामा निर्वाचन सम्पन्न भएका मितिले एक महिना भित्र सम्पूर्ण मतगणनाको औपचारिक नतिजा प्रकाशित गरिसक्नु पर्ने प्रावधान छ । मतदान केन्द्र व्यवस्थापनको प्रयोजनवश भौगोलिक हिसाबले ५० वटा राज्य र एउटा डिस्ट्रिक्टमा बिभाजित अमेरिकामा हालसम्म, मिसिगन, क्यालिफोर्निया र उटाह समेत तीन राज्यबाहेक सबै स्थानबाट मतगणनाको तथ्याङक प्राप्त भै सकेका छन् । निर्वाचनको मत गणना विश्लेषण गर्ने अमेरिकाको सुप्रसिद्ध संस्था कूक पोलिटिकल रिपोर्ट आनालाइसिसद्वारा प्रकाशित ताजा प्रतिबेदनमा गणना भैसकेका १२ करोड ४६ लाख ५३ हजार दुईसय सोह्र पपुलर भोटमध्ये हिलारी क्लिन्टनले ६ करोड ३० लाख ४५ हजार दुईसय छैसाठ्ठी र डोनाल्ड ट्रम्पले ६ करोड १६ लाख ७ हजार नौसय पचास प्राप्त गरेकाे तथ्याङ्क छ । यस अनुसार पपुलर भोटको उपलब्धिमा भने हिलारी क्लिन्टन १४ लाख भोटले डोनाल्ड ट्रम्प भन्दा अग्रस्थान मै रहेकाे देखिन्छ । वर्तमान राष्ट्रपति बाराक ओबामाले सन् २०१२ को निर्वाचनमा ६ करोड ५९ लाख १५ हजार सातसय पन्चान्नब्बे पपुलर भोट प्राप्त गरेका थिए । तीनवटा राज्यहरुः मिसिगन, क्यालिफोर्निया र उटाहमा पूर्ण मत गणना समाप्त भै तथ्याङ्क आउन बाँकी छ । यी तीनवटै राज्यहरुबाट मतगणना तथ्याङ्क आएपछि क्लिन्टनले पनि बिगतमा ओबामाले पाउनु भएकै हाराहारीमा पपुलर भोट पाउने र वर्तमानमा ट्रम्पले पाएकाेभन्दा २० लाखले बढी हुने बलियो अनुमान गरिएको छ । दुवै उम्मेदवारले हासिल गरेकाे राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्प नै अगाडी रहेकाले उनकाे विजय भएकाे हाे । यस्तो भारी परिमाणमा पपुलर भोट प्राप्त गर्न सफल हिलारी क्लिन्टनलाई आनुपातिक इलेक्टोरल कलेज भोट प्राप्त नहुनु नै उनका दुर्भाग्य मान्नु पर्ने हुन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटमध्ये हालसम्म ५२२ को नतिजा आइसकेको छ । यसमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल भोट प्राप्त गर्नु भएका हुँदा क्लिन्टनभन्दा ५८ भोटले अग्रस्थानमा ट्रम्प छन् । राष्ट्रपति पदमा विजयी हुन कूल पाँचसय अठ्तीस इलेक्टोरल कलेज भोटको पचास प्रतिशत भन्दा बढी अर्थात् दुईसय सत्तरी २७० भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।
अमेरिकी राष्ट्रपतिको पद अन्यन्त प्रभावशाली र गरिमामय रहेको छ । यस पदमा निवार्चित व्यक्तिले अमेरिकाको मात्र नभएर सारा विश्वको नै विचार पु¥याएको विश्वले नै अनुभव गरेको पाइन्छ । अमेरिकीलाई सारा विश्वले अन्त्यत सुरक्षित स्थान र मानवजातिले कल्पना गरेका आनन्ददायी र धरतीको स्वर्गको रुपमा लिएको पाइन्छ । तर यसपटकको निर्वाचनमा अमेरिकी जनताको चयन शैलिलाई हेर्दा ट्रम्पलाई चयन गर्नमा अमेरिकी मूलका अमेरिकी नागरिकहरुको बाहुल्यता रह्यो । बाह्य मूलका प्रायःअमेरिकी नागरिकको चयन भने हिलारीप्रति रहेको पाइयो । ट्रम्पलाई चयन गर्नुको पछाडी मेक्सिको सीमामा पर्खालको निर्माण, आप्रवासीको सङ्ख्यामा कटौति, मुस्लिम मूलका अमेरिकीहरुप्रति निन्दा र कडाइ गर्ने चेतावनी नै प्रमुख कारणहरु रहेका पाइन्छन् । ट्रम्पले निर्वाचन अभियानमा घोषणा गरेका जतिसुकै अप्रिय सम्बोधनहरु पनि बहुसङ्ख्यक अमेरिकी मूलका रैथाने अमेरिकी जनताको मन जित्न नै सफल रहेको पाइयो । सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका ट्रम्प सन् १९७१ देखि देशको धनाढ्य साहुकारका रुपमा चिनिन थालेकाे हुन् । सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर उनी चर्चाको शिखरमा पुगेका थिए । उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीहरुको सूचीमा राखेको थियो भने विश्वमै सर्वाधिक धनीहरुको सूचीमा उनी ३२४ औँ स्थानमा परेका छन् । फोब्र्सले उनको कुल सम्पत्ति करिब ३ दसमलब.७ खर्ब अमेरिकी डलर रहेको अनुमान लगाएको छ । राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (घर, जग्गा जमीन किन बेच वा सो सम्बन्धि काम गर्ने ठेकेदार), एक कुशल टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनले आफ्ना पिताले सञ्चालन गर्दै अाएकाे रियल स्टेट व्यवसायमा संलग्न भएका थिए । उनले सन् १९७३ देखि पैतृक व्यवसायको जिम्मा लिएका हुन् । घरानिया पैतृक व्यापार व्यवसाय आफ्नो जिम्मामा आएपछि उनले आफूले सम्हालेका सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’ को नाम दिई सञ्चालन गरे । व्यावसायिक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरु टाट पल्टिएका थिए । जीवनभर मादक पदार्थमा हात पनि नलगाएका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीको कारखानामा “भोड्का” उत्पादन गरेका थिए । उनका ठूला दाजु फ्रेड अत्यधिक मादक पदार्थ पिउने भएकाले मदिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन् । तेह्रवर्षको उमेरमा सैनिक विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिल्भानियाबाट सन् १९६८ मा स्नातकस्तरको शिक्षा पूरा गरेका थिए । सन् २०१५ देखि राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्पलाई रिपब्लिकन पार्टीले सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा चयन गरेको थियो । विश्व राजनीतिमा आफूलाई सधैँ उत्कृष्ट र अब्बल दर्जामा राख्न चाहने राष्ट्र अमेरिकाले विगतमा आर्जन गरेको वर्चस्वमा ट्रम्पको नेतृत्वले वृद्धि गराउने हो वा केही अन्यथा हुने हो, सो भविष्यले बताउने छ ।

trump Hilary

विशेष