देश

शुक्लाफाँटामा ‘क्यामरा ट्रयापिङ’ प्रविधिबाट बाघ गणना सुरु

शुक्लाफाँटामा ‘क्यामरा ट्रयापिङ’ प्रविधिबाट बाघ गणना सुरु
[caption id="attachment_34193" align="alignleft" width="294"]tiger फाइल तस्बिर[/caption] मंसिर - ६ । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रुपमा बाघ गणना सुरु गरेका हुन् । शुक्लाफाँटा आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले विगत वर्ष झैँ यस वर्ष पनि ‘क्यामरा ट्र्यापिङ’ प्रविधिबाट बाघ गणना सुरु गरिएको बताए । गणना कार्यको एक कार्यक्रमबीच राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले उद्घाटन गरे । उनले गणकलाई इमान्दारिताका साथ गणनामा खटिन निर्देशनसमेत दिए । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने सरकारी लक्ष्य सुनाउँदै उपमहानिर्देशक डा ढकालले शुक्लाफाँटा बाघ गणनामा अग्रस्थानमा रहेको भए पनि खुल्ला सीमा चुनौतीका रुपमा रहेको बताए । पन्ध्र दिनसम्म चल्ने गणना कार्यक्रममा आरक्ष कार्यालय, आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानीबक्स गण, राष्ट्रिय प्रकृति संरक्षण कोस, मध्यवर्ती उपभोक्ता समिति पदाधिकारी र स्थानीय विद्यार्थी गरी ४० जना गणना टोलीमा संलग्न छन् । गणनाका लागि ८६ जोडी स्वचालित क्यामेरा प्रयोग गरिनेछन् । तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको यस आरक्षमा यसअघिको गणनाअनुसार १७ वटा बाघ रहेका छन् । “हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर गणना गर्ने योजना बनाएका छौँ,” शुक्लाफाँटा आरक्षका प्रमुख संरक्षण अधिकृत ढकालले भने, “प्रविधिज्ञहरुलाई पनि गणनाबारे आवश्यक तालिम दिइएको छ ।” गणनामा आवश्यकताअनुसार हात्तीको समेत प्रयोग गरिने आरक्ष कार्यालयले जनाएको छ । बाघ र यसको आहारजन्य प्रजातिको बासस्थान विस्तार, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा चोरीसिकारी नियन्त्रणमा आरक्ष प्रशासन लागिपरेको छ ।

Suklafata Arakxya

विशेष