विचार

कञ्चनले किन लुकाइन् समाजलाई गुन लगाउने कुरा ?

कञ्चनले किन लुकाइन् समाजलाई गुन लगाउने कुरा ?

kanchan-mohan-nepalaaja-03


फुटबलका क्याप्टेन बिराज महर्जनलाई एउटा डरले सताइरहन्छ: हारिएला र गालीको बर्षा होला । कप्तानी सम्हालेपछि लगातार ३ अन्तराष्ट्रिय उपाधि दिलाएका महर्जन आजको जीतमा जति खुशी छन्, भोलिको सम्भाव्य हार र त्यपपछिको आलोचनाका बारेमा उत्ति नै चिन्तित । लिग च्याम्पियनसिप भएको छैन । घरेलु प्रतियोगिता भइरहेको छैन । खेलाडीलाई प्रयाप्त मात्रामा डाइट छैन, खेल्ने सामाग्री यथेष्ट छैन । खेल्नलाई रंगशाला छैन । नयाँ खेलाडी उत्पादन भइरहेका छैनन् । तर, टिमले हारिहाले यतातिर कसैले ध्यान दिनेवाला छैन । पृष्ठभूमी नहेरी आलोचना गर्ने र प्रसंशा गर्ने प्रवृत्ति सामाजिक चरित्र हो । त्यसमाथि सामाजिक संजालको दुनियाँमा मनलाग्दी बोल्न कस्ले रोकोस् ।

कञ्चन प्रकरण अर्को डरलाग्दो उदाहरण हो । उनले टेलिभिजनको पर्दामा कथा कहेपछि पति मोहन र दुई छोरामाथि विष बमन शुरु भयो । रेग्मी परिवारलाई दुई दशक पहिले देखि चिनेकी दैलेखकी मीना आर जे थापा भन्छिन्, ‘छोराहरुमाथि आक्रमण नभएको भए म बोल्थिनँ । तर, आमाको माया सानैदेखि नपाएका छोराहरुलाई आमाकै कारण चौतर्फी आक्रमण शुरु भएपछि बोल्न बाध्य भएँ । मजस्तै चिन्ने अरुपनि थिए, उनीहरुले म्यासेज बक्समा रेग्मी परिवारलाई अन्याय भएको भन्थे तर वालमा लेख्दैनथे ।’ थापाले वालमा सांकेतिकरुपमा कञ्चनको कथा काल्पनिक रहेको बताउँदा उनीमाथि सामाजिक संजाल प्रयोगकर्ताहरु जाइलागि हाले । ‘किन ? के हो बास्तविकता ?’ सायदै कसैले सोध्यो ।

मीना र उनीजस्तै एकाध महिलाले थोरै भएपनि विषयवस्तुलाई मोड्ने प्रयत्न नगरेको भए मोहन पूर्णरुपमा दानवीकृत हुन्थे । छोराहरु बास्टर्ड बनाइसकिएका थिए । डिप्रेशनका पीडित मोहन ‘छोराको अनुहार बिर्सेको भए’ मरिसकेका हुन्थे ।

अहिले फेरी कञ्चनमाथि आक्रमण भइरहेको छ । मोहन भन्छन्, ‘यो लडाई व्यर्थको छ । जो माथि आक्रमण भएपनि आखिर चोट हाम्रै परिवारलाई लाग्छ ।’ कञ्चन र मोहन मध्ये दोष कस्को ? यो प्रधान विषय हुँदै होइन । प्रधान विषय प्रतिष्ठित परिवारकी कञ्चन कसरी सडकमा पुगिन् भन्ने हो । जुन विषय ओझेलमा परिरहेको छ ।

मोहन बाजुराका हुन् । कञ्चन मोरङकी । काठमाडौँ पढ्न आएका मोहनको विवाह कञ्चनका भिनाजुहरुको पहलमा भएको देखिन्छ । पढेलेखेको गाऊँको केटासँग सालीको बिहे गरिदिँदा भविश्य राम्रो हुन्छ भन्ने असल नियत देखिन्छ । तर, त्यहीँनेर ठूलो भुल भइसकेको थियो ।

कञ्चन र मोहनको मन मिलेको थिएन । नत भाषा, संस्कृति र रहनसहन मिलेको थियो । इन्जिनियर पढ्दै गरेका मोहन नौ कक्षा पढ्दै गरेकी कञ्चनसँग ‘करकापका कारण’ बिहे गर्न विवश थिए । बाजुराका मोहन र मोरङकी कञ्चन भौतिकरुपमा एक ठाऊँमा भए, मनले सायदै कहिल्यै साथ रहे ।

कञ्चनले कसैको पनि अनमेल विवाह नगरिदिन कार्यक्रममार्फत आग्रह गरेको भए अमूल्य सन्देश जाने थियो । मन मिलेर र एकअर्कालाई बुझेर विश्वका दुई ध्रुबका व्यक्तिबीच पनि विवाह हुनसक्छ, फगत भविश्यका लागि वर्तमान नबुझिकन गरिने विवाहले घरलाई जेल बनाउँछ ।

कञ्चन रक्सी र बाहिरियाको संगतका कारण ‘बिग्रिएको’ मोहनको आरोप छ । कञ्चन भट्टीमा भेटिने गरेको भनि धेरैतिरबाट व्यक्त भइसकेको छ । त्यहाँसम्म कञ्चन कसरी पुगिन् ? सायदै कसैले हेक्का राख्यो । सरकारी जागिरे भएका कारण मोहन घरबाहिरै रहन्थे । कञ्चन घरमा हुन्थिन् । काम हुँदैनथ्यो । जसको परिणाम उनी बाहिरियाको संगतमा पुगिन् । मोहनकै शब्दमा गायिका रेश्मा सुनुवारदेखि पूजा श्रेष्ठसम्मको हिमचिमले कञ्चन विल्कुल अर्कै भइन् । कञ्चनले श्रीमान र श्रीमती अलग अलग नरहनुहोला भन्ने सन्देश दिन सक्थिन् । त्यसले पनि धेरैको चेत खोल्न सक्थ्यो ।

कञ्चनले रक्सीबाट अलग रहन सबैलाई आग्रह गर्न सक्थिन् । रक्सी छोराभन्दा प्रिय बनेको प्रसंग निकालेर उनले दुनियाँका आँखा रसाउने गरी प्रेरणा दिन सक्थिन् । तर, उनलाई ‘सत्य’ बोल्ने आँट किन आएन ? प्रश्न पेचिलो छ ।

कञ्चनले केही सरासर झूट पनि बोलिन् । माइतीको माया उनले यतिसारो गरिन् की भएका माइतीपनि छैनन् भनिदिइन् । जबकी उनका माइती हैसियतवाला नै भएको पुष्टि भएको छ । आमासहित ४ दाजुभाइको माइतीलाई उनले लुकाउन खोजिन् । सत्य छिप्न सकेन ।

उनले छोराहरु टक्सन गाडी चढेर आफु बसेको ठाऊँ हुँदै गुड्ने गरेको तर आफुलाई नहेरेको काल्पनिक कथा रचिन् । कम्तिमा पनि छोराहरुसँग टक्सन गाडी छैन, यो यथार्थ हो । मीना थापालगायतका जानकारहरुका अनुसार ‘बिचरा छोराहरु’ मातृप्रेमबाट बञ्चित अभागी हुन् । तिनै अभागीमाथि दुनियाँले सत्तोसराप गर्ने गरी कञ्चनले कथा किन रचिन् ? सन्तानलाई धोबीखोलामा फ्याँकेर हिड्ने आमा पनि छन् है भन्ने कोणबाट थोरैमात्र सोचिएको भए रेग्मीपुत्रहरुमाथिको प्रहार कम हुन्थ्यो, सायद ।

कञ्चन कार्यक्रममा ल्याउन लायक पात्र हुन्, दुईमत छैन । उनले आफ्नो कथा जस्ताको तस्तै भनिदिएको भए सारा संसारलाई चुकचुकाउने गरी उनी आफैँमा पाठशाला बन्थिन् । तर, आफु, आफुलाई संरक्षण दिने संस्था र शालिन स्वभावका कार्यक्रम संचालक सुमन खरेललाई समेत विवादमा ल्याउने गरी उनी प्रस्तुत भइन् । रेग्मी परिवार र माइती त शुरुमै घानमा परिहाले ।

कञ्चनको विवाद सामसुम होला । तर, यो विवादको निष्पक्ष निरुपण नभएमा पत्रकारिता, सामाजिक संस्था, न्यौपाने र रेग्मी परिवारप्रति आमरुपमा सदैव प्रश्न उठ्ने छ । कहिले तरकारीवाली त कहिले सडकवालीको फगत बहशमा समाज तंरगित हुने र पत्रकारिता गालीको खेती हुने परिस्थिति दोहोरिरहने छ ।

र यो पनि,

कन्चनको पतिको बयान


भाग १ 

[embed][/embed]
भाग २ 

Kanchan Regmi Kanchan Sharma

विशेष