स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर

स्वास्थ्य मन्त्रालयको निर्देशन अटेर
मंसिर – ७ । सरकारी चिकित्सक सङ्घ नेपालले सरकारी अस्पतालमा बहिरङ्ग सेवा लगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ । मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको सङ्घले आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सङ्घका महासचिव डा विष्णुरथ गिरीले अन्य सरकारी कार्यालय जस्तै नियमानुसार १० बजेदेखि ५ बजेसम्म सञ्चालन गरेर साँझ ५ बजेपछि के गर्ने भन्नेबारेमा सूचनाले केही उल्लेख नगरेको र त्यो सूचना गैरजिम्मेवार रहेको टिप्पणी गरे । अहिले सरकारी अस्पतालमा चिकित्सकले एक हप्तामा कम्तीमा ४९ घन्टा सेवा दिइरहेको बताउँदै उनले बिहान र साँझको ‘वार्ड राउन्ड’समेत जोड्दा सेवा अवधि त्यसभन्दा बढी रहेको जिकिर गरे। विज्ञप्तिमा श्रम ऐनले साप्ताहिक रुपमा ४८ घन्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको भन्दै सङ्घले अतिरिक्त सेवाका लागि सरकारबाट चिकित्सकलाई थप सुविधा व्यवस्था हुनुपर्ने बताइएको छ । अन्य सरकारी कार्यालयमा सरकारले ‘आचरण सुधार्न’ शतप्रतिशत ‘प्रोत्साहन भत्ता’को व्यवस्था गरेको जनाउँदै सङ्घले एक हजार २०० भन्दा बढी सरकारी चिकित्सकलाई भने २०४० सालको संरचनामा चलाइरहेको आरोप पनि लगाएको छ । मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा लगायत अन्य सेवा बिहान १० बजेदेखि बेलुका १० बजेसम्म सञ्चालन गर्न गत शुक्रबार निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले जनशक्ति थप्ने काम अस्पतालको भएको बताए। उनले जे सुविधा दिइएको छ, त्यहीभित्र नै बसेर काम गर्नुपर्छ भन्दै सेवा सुविधा थप्ने विषयमा मन्त्रालयले छलफल गर्ने बताए । निर्देशनानुसार स्वास्थ संस्था खोलिएको नपाइएकामा वा चिकित्सक नबसेकामा कारबाही हुने मन्त्रालयले जनाएको छ । रासस

health ministry

विशेष