समाज

सांसद तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

सांसद तलब–भत्ता वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित
anerasobu मंसिर - ७ । सांसदहरुको तलब–भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको जानकारी दिइयो । बैठकको निर्णयअनुसार बुधबार दिउँसा ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । त्यस्तै सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ । हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहनुभएकाले उनी आएपछि मात्र ज्ञापनपत्र बुझाइने बताइएको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याका बीच सांसदहरुको तलब बढाएर सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताए । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयमा पुनःविचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए। त्यसैगरी, अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गरे। ‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । योसँगै हरेक सांसदले गत साउन महिनादेखि लागू हुने गरी मासिक रु एक लाख भन्दा बढी तलब भत्ता बुझ्नेछन् । रासस

Aandolan Nabina Lama rajib gandhiko bibaha Rajib Pahari

विशेष