देश

पाँच नम्बर प्रदेश टुक्र्याए अान्दाेलनमा जाने चेतावनी

पाँच नम्बर प्रदेश टुक्र्याए अान्दाेलनमा जाने चेतावनी
मंसिर - ८ । पाँच नम्बर प्रदेश टुक्राउने चलखेल भैरहेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने चेतावनी जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले दिएका छन । पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने भन्दै उनीहरुले तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए । पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले आज संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा आयोजना गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सङ्घीय पुनः संरचनाको नाममा वा कुनै पनि बहानामा पाँच नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए । पहाड तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै उनले यसलाई टुक्राउन नहुने बताए। नेकपा (एमाले)का अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताए । नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताए। राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले सङ्घीयता मुलुकमा टिक्न नसक्ने बताउँदै सङ्घीयताको उपज नै अहिले मूलुक र जिल्ला टुक्राउने चलखेल भएको धारणा राखे । नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सोभाखर पन्थी र उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीका महासचिव नेत्रप्रसाद भुसाल लगायतले कुनै पनि हालतमा यो प्रदेशलाई टुक्राउन नहुनेमा जोड दिए।

Gulmi Pradesh -5

विशेष