समाज

इन्स्टिच्युट अवैध भएको खुलेपछि विद्यार्थी अन्यौलमा

इन्स्टिच्युट अवैध भएको खुलेपछि विद्यार्थी अन्यौलमा
मंसिर–८ । सिटिइभिटीबाट सम्बन्धन नलिई यहाँ अवैधरुपमा इन्स्टिच्युट खोलिएको पत्ता लागेपछि उक्त इन्स्टिच्युटमा अध्ययनरत सयौँ विद्यार्थीको पढाई अन्यौलमा परेको छ । धनगढी मल्टी इन्स्टिच्युट अफ टेक्नोलोजी प्रालि नाम राखेर स्थानीय क्याम्पस चोकमा सञ्चालनमा आएको उक्त इन्स्टिच्युटका विद्यार्थीले बुधबार सञ्चालकलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली घेराउ गरेपछि उक्त इन्स्टिच्युट अवैध रहेको खुलासा भएको हो । सिटिइभिटीबाट मान्यता प्राप्त भन्दै उक्त प्रालिले १५ महिने भेटेनरी जेटिए, कृषि जेटिए र जुनियर कम्प्युटर आइटी पढाउने नाममा ११० जनाभन्दा बढी विद्यार्थीबाट लाखौं ठगी गरेको पीडित विद्यार्थी सरिता ऐरीले गुनासो गरिन् । मान्यता प्राप्त नभएको र आफूहरू ठगिएको थाहा पाएपछि इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले बुधबार इन्स्टिच्युट सञ्चालक राजाराम चौधरीलाई प्रशासनसमक्ष बुझाएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सम्बन्धन नलिई इन्स्टिच्युट सञ्चालन गरेको पाइएकाले सञ्चालकमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । इन्स्टिच्युट सञ्चालक चौधरीले भने सिटिइभिटीले मान्यता दिने भनेकाले आफूले उक्त आश्वासनका आधारमा इन्स्टिच्युट सञ्चालन गरेको दाबी गरेका छन् । उक्त इन्स्टिच्युटमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेर आएका ११० जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । पन्ध्र महिने उक्त कोर्ष अध्ययनका लागि जम्मा रु ८० हजार तोकिएकोमा अहिलेसम्म जनही रु ५० हजार बुझाइसकिएको विद्यार्थीले बताएका छन् । रासस

ctvt Dhangadi institute

विशेष