आहा राराकप माघको पहिलो हप्ता
मंसिर–८ । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ महिनाको पहिलो हप्ताबाट पोखरा रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिता आयोजक सहारा क्लबका महासचिव केशबराज बरालले बुधबार एक विज्ञप्ति जारी गरी अखिल नेपाल फुटबल सङ्घबाट आयोजक सहारा क्लब पोखरालाई समय तालिका प्राप्त भएको जानकारी दिएका छन् ।
हिमश्री फुडस प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाइलको उपप्रायोजन एवम् पोखरा उपमहानगर पालिकाको संयोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्लगायतका सङ्घसंस्थाको विशेष सहयोग तथा अन्य विभिन्न संस्थाको सहयोग हुने विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
एकेडेमीमा हाल तेस्रोे ब्याचमा १६ जिल्लाका २८ जना बालक आश्रित छन् । विगत तीन वर्षदेखि उनीहरूको निःशुल्क शिक्षादिक्षा, स्वास्थ्यलगायत फुटबल प्रशिक्षण क्लबद्वारा निर्मित सुविधासम्पन्न आवासगृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट सञ्चालन हुँदै आएको छ ।
प्रेस लगायतका विभिन्न सङ्घसंस्थाको सहयोगको अपेक्षा गर्दै क्लबले प्रतियोगिता अवधिभर बन्द, हडताल, चक्काजामको कार्यक्रम नराखिदिन राजनीतिक दल, भातृ संगठन, यातयात व्यवसायीलगायत सबैमा अनुरोधसमेत गरेको छ । रासस
sahara academy
sahara club