बदलियो सोचः विद्युतीय शवदाह गृहमा शव जलाउन अब छैन संकोच
मंसिर १० । २०७२ माघ १० गते विद्युतीय शवदाह गृह उद्घाटन हुँदा धेरैले भने ‘फाईदा यसले जत्तिनै गरेपनि नेपालमा यसको भविष्य छैन ।’
यसको रेडिमेड जवाफ आउथ्यो ‘छिमेकी देश भारतमा विद्युतीय शवदाह गृह सफतलापूर्वक सञ्चालन हुन सकेको छैन । अनी कसरी नेपालमा सफल हुन सक्छ र ? ’
अनि, स्पष्टीकरणमा उनीहरु भन्थे ‘किनकी नेपाल र भारतको धर्म र संस्कारले विद्युतीय शवदाह गृहलाई मान्यता दिँदैन । ’
२०७२ माघ २७ गते पूर्वप्रधानमन्त्री सुशील कोईरालाको निधन भयो । उनको दासस्कार पशुपतिको आर्यघाटमा नगरि विद्युतीय शवदाह गृहमा गर्ने भनियो । तर, अन्तिम अवस्थामा उनको दाहसस्कार पशुपति आर्यघाटमा भयो ।
त्यसपछि, विद्युतीय शवदाह गृहले हावा खायो, अब साच्चिकै चल्दैन भन्ने टिप्पणी धेरै आए । तर, यथार्थ त्यस्तो भएन ।
२०७२ माघदेखि २०७३ मंसिर ७ गतेसम्म ३ हजार ६ सय ७५ वटा शव विद्युतीय शवदाह गृहले खरानी बनाएर निकालिसक्यो । यो तथ्यांकलाई हेर्दा विद्युतीय शवदाह गृहमा दैनिक सरदर १२ देखि १४ वटा लाशलाई खरानी बनाउँछ । त्यो भन्दा बढी लास खरानी बनाउने क्षमता विद्युतीय शवदाह गृहमा छैन । त्यसैले कतिपय विद्युतीय शवदाह गृहमा आएको लाश पशुपतिको आर्यघाटमा गएको छ । शवदाह गृहका कर्मचारीहरु भन्छन ‘कहिलेकाही ३ देखि ४ वटा लाश हामीले नभ्याएर आर्यघाट जान्छन ।’
घाट उपयुक्त कि शवदाह गृह ?
विद्युतीय शवदाह गृह उद्घाटन भएको बेला घाट उपयुक्त कि शवदाह गृह ? यसमा मानिसहरुले धेरै बादविवाद गरे । धर्म र संस्कारको कुरादेखि लिएर वातावरणको कुरा ल्याएर जोडे । अनेक उदारण दिएर कसैले शवदाह गृह सफल हुने ठोकुवा गरे भने कसैले असफल हुने ठोकुवा गरे । तर यो ११ महिना बितिसक्दा कसैले गरेको भविष्यवाणी मेल खाएन । घाट र शवदाह गृह दुबै नत सफल भयो न त असफल नै ।
धेरै मानिसहरुले मर्ने बेला आफ्नो सन्ततीहरुलाई ‘मेरो दाहसंस्कार पशुपती आर्यघाटमा लगेर गरिदिनु’ भन्छन । यस्तो भनाइबाट धार्मिक र सास्कृतिक आस्था झल्कन्छ ।
‘आर्यघाटमा दाहसस्कार गरे स्वर्ग जाने बाटो खुल्छ ’ भनेर विश्वास गर्नेहरु पनि भेटिन्छन् ।
त्यसैले पनि पशुपति आर्यघाटमा दैनिक धेरै संख्यामा लाशहरु पुग्ने गर्छन् । मानिसहरु वातावरण प्रदुषणलाई ध्यान नदिइकन आर्यघाटमा नै दाहसस्कार गर्छन ।
वातावरणीय मात्रै होईन विद्युतीय शवदाह गृह धेरै दृष्टीले महत्वपुर्ण छ । पशुपति विकाश कोषको एक कर्मचारीले भर्खरैको एक घटना सुनाए ।
‘केहि दिन अगाडि चाबहिल ओम अस्पताल नजिकै मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भयो । उनी त्यही दिन राति पढ्न अमेरिका जाने तयारीमा रहेछन । सपिङ र साथीभाइहरुसँंगको भेटघाट सकेर फर्कदा बाटोमा उनको ज्यान गयो । परिवारको एक्लो छोरो पढ्नको लागि अमेरिका जानै लाग्दा मृत्यु भयो ।
चित्त बुझाउन गाहे भएपनि दाह संस्कार गर्नैपथ्र्यो । दाहसस्कारको लागि आर्यघाटमा लग्दा आफ्नो छोरोको शरीर जल्दै गरेको, बासको भाटाले हानेको, उसको जोर्नीहरु पड्केको सुनेर उनको आमा त्यही बेहोस भईन । बेहोस भएको दुईसाता बित्दा समेत उनको होस आएन ।’
यो घटनालाई उदारण दिदै उनी भन्छन ‘ती युवाको दाहसस्कार विद्युतीय शवदाह गृहमा गरेको भए, ती आमाले आफ्नो जवान छोरो आखाँअगाडि आगोमा जल्दै गरेको देख्नु पर्ने थिएन । विभिन्न अंगप्रयत्न पड्केको आवाज आफ्नै कानले सुन्नु पर्ने थिएन । आफ्नै छोराको लाशलाई भाटाले घोचेको र हिर्काएको विभत्स दृश्य आफुले सामना गर्नुपर्ने थिएन । अनि मानसिक रुपमा क्षतविक्षत भएर यति लामो समयसम्म बेहोस हुनुपर्ने थिएन ।’ त्यसैले विद्युतीय शवदाह गृह आर्यघाटभन्दा उपयुक्त छ ।
विद्युतीय शवदाह गृहमा दाहसस्कार गर्न एउटा लाशको ४ हजार रुपैया तिर्नुपर्छ । साउन २७ गतेभन्दा अघि एउटा लाशको दाहसस्कार गरेको ३ हजार थियो । बच्च्चाको लाशलाई दाहसस्कार गरेको १५ सय बाट २ हजार बनाएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । विद्युतीय शवदाह गृहमा शव चिस्यान केन्द्र पनि छ । जहाँ तत्कालै दाहसस्कार गर्न नमिल्ने र मृतकका आफन्तहरु कुर्नुपर्ने लाशहरु राख्न मिल्छ ।
उक्त शव चिस्यान केन्द्रमा एकैचोटीमा २५ वटा लाशहरु राख्न मिल्छ । एउटा लाशको एकदिनको ७ सय रुपैया तिर्नुपर्ने हुन्छ । आखादानको ईच्छुकहरुको लागि समेत शवदाह गृहमा आखाँदानको व्यवस्था छ ।
पशुपति आर्यघाटमा लाश जलाएको ३ देखि ४ घण्टासम्म लाग्छ । खर्चको दृष्टिले विद्युतीय शवदाह गृहभन्दा ३ दोब्बर महगों छ । अर्थात, आर्यघाटमा साधारण तरिकाले दाहसस्कार गर्नको लागि १२ हजारदेखि १४ हजारसम्म तिर्नुपर्छ । वियोगको बेला मानिसहरु रकममा बार्गेनिङ गर्दैनन् ।
धेरै मानिसहरु भ्रमित हुदै भन्छन् ‘शवदाह गृहमा खरानी निकालेर दिन्छ अन्य सस्कारका कामहरु हँुदैन ।’ तर त्यहा कार्यरत कर्मचारीहरु भन्छन ‘आर्यघाटमा जस्तै दाहसस्कारका कार्यहरु त्यहाँ पनि गरिन्छ । कपाल काट्ने, लाशको वरिपरि घुम्ने, जल अर्पण गर्ने र पुजा गर्ने कार्यलगायत अन्य सस्कारका सबै कामहरु हुन्छ ।’
पशुपति क्षेत्रमा अहिले ११ वटा घाटहरु सञ्चालनमा आएका छन । ती घाटहरुमा विभिन्न अवस्थामा मृत्यु भएका मानिसहरुको दाह संस्कार गरिन्छ । आर्यघाटमा दैनिक सरदर ३० देखि ४० वटासम्म लाश आउँछ । ती सबै लाशहरुलाई दाहसस्कार गर्ने क्षमता आर्यघाटले राख्छ भने विद्युतीय शवदाह गृहले आएको लाशपनि आर्यघाटमा नै फकाईदिनुपर्ने अवस्था छ ।
किन भ्याउँदैन ?
विद्युतीय शवदाह गृहमा जम्मा २ वटा मेसिन राखिएको छ । २ वटा मेसिन एकैचोटी चलाउन मिल्दैन । त्यहाका कर्मचारीहरु भन्छन ‘एउटा मेशिन जम्मा १५ दिनजति चलाएर मर्मत गर्नुपर्छ । एउटा मर्मत गर्दा अर्को चलाउने हुनाले एउटा मेसिनले धेरै लाश खरानी बनाउन भ्याउँदैन ।’
विद्युतीय शवदाह गृहमा कार्यरत कर्मचारीहरुका अनुसार शवदाह केन्द्रमा ३ वटा मेसिन राख्ने ठाउँ छ । मेसिन २ वटा मात्रै छ । एउटा शव जलाउन १ घण्टा लागेपनि सबै काम पुरा गर्न लगभग अर्को आधा घण्टा लाग्छ । त्यसैले आए जति शवहरु विद्युतीय मेसिनबाट जलाउन सम्भव हुँदेन । शव धेरै हुने गरेको भए पनि अर्को मेसिन बनाउने सुरसार छैन ।
पशुपति विकास कोषका एक कर्मचारी भन्छन् ‘विश्व सम्पदा सूचीमा सूचीकृत स्थानमा शवदाह गृह बनाउन लामो प्रक्रिया र निर्देशिकाहरु हेर्नुपर्ने हुन्छ । उक्त शवदाह गृहको १०० फिट अग्लो चिम्नी बनाउन पनि निर्देशिका हेर्नुपरेको थियो । त्यहाँ अर्को एउटा मेसिन थप्न सकिन्छ अर्को शवदाह गृह बनाउन सम्भव छैन ।’
उनको अनुसार एउटा मात्र विद्युतीय शवदाह गृहले भार थाम्न सक्दैन । त्यस्तै प्रकारको शवदाह गृह अन्य ठाउँहरुको ठूला घाटहरुमा बनाउन सके मात्र घाटमाको विकल्प बन्न सक्छ ।
ती कर्मचारी भन्छन्, ‘विद्युतीय मेसिन कोलकत्ताबाट झिकाईएको हो । उक्त मेसिनमा शव हालेर आफैले ठेल्नुपर्ने हुन्छ । जसको कारण अलिबढी समय लाग्छ । अन्य देशको जस्तै स्वीच थिचेर आफै जाने आधुनिक किसिमको मेसिन भएको भए धेरै सजिलो हुन्थ्यो ।’
प्रस्तुतिः सागर बुढाथोकी
arya ghar electric cemetery