प्रहरी महानिरीक्षक अर्यालद्वारा नागरिक सहायता र सिसी क्यामेरा कक्ष उदघाटन
मंसिर १० । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा स्थानीय जनताको सहयोगमा नवनिर्मित २ तले नागरिक सहायता कक्ष, सिसी क्यामेरा कक्षकाे शुक्रबार आयोजित एक समारोहबीच उद्घाटन गरेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सेवाको विकल्प नरहेको अवस्थामा असल प्रहरी नै आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी संगठनको इतिहासमा एकैपटक सिसी क्यामेरा र भवन निर्माणमा लागेको लागत जनताको तर्फबाट सबैभन्दा ठूलो सहयोग रहेको बताए । सहयोगी मनहरुको यस सहयोगमा बनेको भवनबाट सेवा प्रवाह गर्दा जनताको पनि सहयोग गर्नुमा आफ्नो स्वार्थ हुन्छ भन्ने बुझेर जनसेवामा सर्वसुलभ एवं सहज पहुँच बिकास गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।
कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले जनसहयोगबाट नागरिक सहायता कक्ष भवन निर्माण तथा सिसी क्यामेरा जडान गर्नु सराहनीय कार्य भएको बताए ।
समारोहमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले जिल्लाको समग्र बस्तुस्थिति र जनसहयोग निर्माण र परिचालनको प्रभावकारिताका बारेमा प्रकाश पारेका थिए भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
भवन निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले स्थानीय दाताहरुको १० लाख ४४ हजार २ सय ९ रुपैयाँको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । सो कार्यक्रममा द थर्ड भिजन संस्थाका कोषाध्यक्ष दिनेश चुकेले सिसी क्यामेरा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा जिल्ला न्यायधीश टेकनारायण कुँवर, जुनियर प्रहरी अधिकृत शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक रणबहादुर चन्द, राजनीतिक दलका पदाधिकारीहरु, विभिन्न कार्यालयका प्रमुखहरु, स्थानीय जनता, उद्योगी, व्यवसायी एवं भवन निर्माण कार्यमा सहयोग पु¥याउने महानुभावहरुको उपस्थिति रहेको थियो ।
Chitawan
Police
Upendra Kanta Aryal