निःशुल्क गर्नु पर्ने डायलासिसबाट रकम असुल्छन् अस्पतालहरु
काठमाडाै । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरुले दुईपटकभन्दा बढी डायलासिस गर्दा बिरामीबाट रकम असुल्ने गरेका छन् । नयाँ बिरामीले त चर्को शुल्क तिरेर अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ ।
सरकारबाट सूचीकृत संस्थामध्ये भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र ललितपुरको सुमेरु अस्पतालबाहेक बाँकी २१ वटा स्वास्थ्य संस्थाले सातामा दुईपटकभन्दा बढी डायलासिस गर्ने बिरामीबाट रकम असुल्दै आएका छन् ।
केपी ओली सरकारले गत जेठ २२ गते प्रत्येक विपन्न बिरामीलाई २ सय ८ पटकमा सीमित निःशुल्क डायलासिसलाई आवश्यकता अनुसार आजीवन निःशुल्क दिने घोषणा गरेको थियो । उक्त कार्यक्रम कार्यान्वयन गर्न ‘बिरामीलाई जतिपटक आवश्यक पर्छ त्यतिपटक निःशुल्क डायलासिस गराउन’ स्वास्थ्य मन्त्रालयले पटकपटक निर्देशन दिए पनि अस्पतालले कार्यान्वयन गर्न अटेर गरेका हुन् । –अन्नपूर्ण दैनिकबाट