टेस्ट राष्ट्रलाई हराउने लक्ष्यका साथ नेपाली महिला टोली मैदानमा उत्रिदै
मंसिर–११ । नेपाली महिला क्रिकेट टोलीले छैटौँ संस्करणको महिला एसिया कप टी–२० मा आफ्नो पहिलो खेल शनिबार पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ ः४५ मा शुरु हुनेछ ।
गत असोज महिनामा हङकङमा भएको आईसीसी महिला विश्वकप छनौट शृंखलामा उपविजेता हुँदै एसिया कपको लागि नेपालले स्थान सुरक्षित गरेको हो । थाइल्याण्डको बैंककस्थित टर्ड थाई क्रिकेट स्टेडियममा हुने पाकिस्तानविरुद्धको खेल नेपालका लागि कठिन देखिएको छ । नेपाली टोलीले एसियाली स्तरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो । एसिया कपमा पाँचौ पटक सहभागी भइरहेको पाकिस्तान र दास्रो पटक सहभागि भएको नेपालले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेको छैन । नेपालले केवल पाकिस्तानसँग भ्रमणको समयमा खेल खेलेको थियो । जसमा नेपाल ८३ र ११६ रनले पराजित भएको थियो । सन् २०१२ मा चीनको ग्वान्झाउमा भएको पाँचौँ संस्करणपछि प्रतियोगिता टी–२० फम्र्याटमा हुँदा नेपाल पहिलो पटक सहभागी भएको थियो । यद्यपि सो प्रतियोगितामा खेलेको तीनै खेलमा पराजय बेहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपालले भने यस प्रतियोगितामा ठूलो अपेक्षा भने गरेको छैन । नेपाली टोलीले एक टेस्ट राष्ट्रलाई हराउने लक्ष्य लिएको बताइएको छ । प्रतियोगितामा नेपाल र आयोजक थाइल्याण्डसहित टेस्ट मान्यता प्राप्त पाकिस्तान, भारत, श्रीलंका र बंगलादेश सहभागी छन् । नेपालले १३ मंसिरमा श्रीलंका, १४ मंसिरमा बंगलादेश, १६ मंसिरमा थाइल्याण्ड र १७ मंसिरमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।