भारतमा भन्दा पहिले नेपालमा कम्पुटर बनाउने बैज्ञानिक, सिंहदरबारले चिन्न नसकेको प्रतिभा
सागर बुढाथोकी
‘यो कालो गेट नै बेगुनी रहेछ । यहाँभित्र पस्दा मान्छे सञ्जन देखिन्छ, बाहिर गएपछि के हुन्छ के ?’ उमेरले ७४ पुगेका मुनिबहादुर जीबनको कथारुपी पोको खोल्दै थिए । काठमाडौँको घट्टेकुलो चोकमा पर्खालले घेरिएको सेतो घर छ । ढोका खोलेर भित्र पसेपछि एउटै कम्पाउण्डमा ३ वटा घर रहेको थाहा हुन्छ ।
एउटा घर आवास हो । दोस्रो कार्यालय र तेस्रो कम्पुटर संग्रालय । मुनिबहादुरको कार्यालयमा प्रधानमन्त्री र अनेक मन्त्रीका फोटा झुण्डिएका छन् । दुई जना प्रधानमन्त्री र धेरै मन्त्रीले पाइला टेकेको संग्रालय देखाउँदै उनी भन्छन्, ‘राज्यले गर्न नसकेको काम गर्नु भएछ । तपाईलाई सरकारले सहयोग गर्छ भनेर फर्कनुहुन्छ । तर, देशमै कम्पुटर उत्पादन गर्ने र निर्यात गर्ने विशाल ल्यावको सोच पूरा गर्न कुनै सरकारले सहयोग गरेनन् ।’
उनको नीजि घरभित्र कम्पुटरसम्बन्धी के छैन, एबाकसदेखि अहिलेसम्मको सबै प्रविधि र उपलब्धी संग्रहित छ । जापान र भारतमा समेत कम्पुटर अनौठो रहेको बेला मुनिबहादुरले कम्पुटरमा हात हालिसकेका थिए ।
मुनिबहादुर शाक्य १९७९ मा कम्प्युटर बनाउदै थिए । अनेक प्रयत्नपछि उनको प्रयास सफल भयो । दिनरात कम्प्युटर बनाउने काममा लागिरहेका उनी आफैलाई उनले बनाएको त्यो यन्त्र नेपालको पहिलो कम्पयुटर हुन्छ भन्ने थाहा थिएन । पछिमात्र थाहा पाए, उनले नेपालमा कम्प्युटर बनाइसक्दा भारतमा समेत कम्प्युटर बनिसकेको थिएन ।
अहिलेका आइबिएम, एप्पल, माइक्रोसफ्टलगायतका चर्चित कम्पनीहरु त्यो समयमा माइक्रो कम्प्युटर बनाउन अनुसन्धानमा व्यस्त थिए । ठूल्ठूला कप्पनीका बडे बडे अनुसन्धानकर्तालाई पछि पार्दै मुनिबहादुरले नेपालमा एक्लै कम्पुटर बनाएर दुनियाँलाई चकित पारेका थिए । बेलायतमा निर्माण भएको माईक्रोप्रोसेसरबाट उनले कम्प्युटर बनाएका थिए । उनी आफैले पावरसप्लाई युनिट र भिडियोकार्ड बनाए । अमेरिकाबाट किबोर्ड ल्याएका उनले रसियन टिभीको मनिटरमा जोडेर कम्प्युटरको चमत्कार देखाईदिए ।
सयुंक्त राष्ट्रसंघले काठमाडौंमा आयोजना गरेको दक्षिण एशियाली वैज्ञानिकहरुको सम्मेलनमा उनले आफुले बनाएको कम्पुटर देखाए । छोटो समयमा तिब्र गतिमा काम गर्न सक्ने सानो कम्पुटर देखेर सबै चकित परे । नेपाल प्रविधिमा अघि रहेको सन्देश प्रवाहित भयो । उनको पहिचान विश्वफर फैलिँदै गयो । चीनको सिन्ह्वा न्युजले ‘नेपाली बैज्ञानिकले कम्प्युटर बनाए’ भन्ने समाचार प्रकाशित गर्यो। अन्तराष्ट्रिय न्युज एजेन्सीको सो समाचारलाई बेलायत, फ्रान्स, अमेरिकालगायतका देशका संचारमाध्यमले समेत पछ्याए । आफ्नै देशमा पढेर फर्केको व्यक्तिले नेपालमा तहल्का मच्चाएको समाचार बाहिरिएपछि फ्रान्स र बेलायतले उनको खोजी गरे । उनी समक्ष अवसरको चाङ लाग्न थाल्यो । उनका बारेमा अन्तराष्ट्रिय जगतले चासो देखायो । तर, देशमा भने उनी अपरिचितजस्तै रहे ।
मुनिबहादुर नेपालमै केही गर्न चाहन्थे । ‘म्यान’ नामक संस्थाले नेपालमा कम्पुटर सिकाउने तालिमका लागि शाक्यलाई आग्रह गर्यो। कम्पुटर प्रोगामसम्बन्धी जानकारी दिनका लागि आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मोहनमान सैजुले गरे । तर, तालिम लिनको लागि युवा र विद्यार्थी कोही भएनन् ।
जसोतसो गरेर सरकारी कर्मचारीहरु उनको कार्यक्रममा उपस्थित भए । कर्मचारीहरु कम्युटरमा डाटाईन्ट्री लगायत अन्य काम गर्न एक हप्तामा नै पोख्त भए । ति पोख्त हुने मानिसहरु टेक्नीकल ज्ञान भएका थिएनन् । कार्यक्रमको अन्त्य हुने दिन सैजुले भने ‘एकहप्तामा तपाईहरु यति धेरै जान्ने भईसक्नुभएको छ । गर्ने हो भने १ वर्षमा के गर्न सकिदैन ? मुनि शाक्य जस्तो हामीलाई मान्छे चाहिएको छ । नेपाललाई आईटी क्षेत्रको केन्द्र बनाउनुपर्छ । ’ सैजुले त्यती भन्दा शाक्य खुसीले गद्गद् भएका थिए ।
जुग बितिसक्यो, व्यवस्था पटक पटक फेरियो तर कम्पुटर केन्द्र बन्न सकेन ।
सन् १९४२मा पाटनमा जन्मिएका शाक्य सानैदेखि असाधारण प्रतिभाको धनी थिए । रोचक र अनौठो काममा उनी सानैदेखि रमाउथे । पाटन हाईस्कुलबाट एसएलसी गरे । त्रिचन्द्र क्याम्पसबाट आईएस्सी गरे ।
शाक्य आईएस्सी सकेपछि पढ्नको लागि सन् १९६५ मा भारत गए । वेस्ट बंगाल कलकत्तामा गएर उनले रेडियो ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ पढ्न थाले । रात्री कक्षा थियो । क्याम्पसबाट फर्कदा रातको १२ बजिसकेको हुन्थ्यो । गृहकार्य उनले राती नै भ्याउनुपर्ने बाध्यता थियो । किनकी, उनी दिउसो इन्जिनियरिङ फर्ममा सुपरभाईजरको काम गर्थे ।
२३ वर्षे बैशालुवयमा उनले गरेको संर्घष देखेर सबैजना दंग पर्थे । गृहकार्य सक्दानसक्दै तीन बजिसकेको हुन्थ्यो । ‘जम्मा ३ घण्टा सुतेर त्यो ५ वर्ष मैले कसरी बिताए, त्यो मलाई मात्र थाहा छ । त्यो ठाउमा कसरी बसँे, कसरी कसरी पढेँ । खै कसरी भन्नु ? ’ उनी भुँयमा एक तमास हेरिहे ।
शाक्य १९६९ मा नेपाल आएर रेडियो नेपालमा टेक्निकल डिर्पाटमेन्टमा काम गरे । खुमलटारमा १०० किलोवाटको टावर स्विस सरकारले सहयोगमा दिएको थियो । त्यसको प्राविधिक प्रमुख भए । त्यतीबेला बेलायतबाट ३ जना इन्जिनियर आएका थिए । शाक्यको कामप्रतिको लगनशिलता र नविन सोचले उनीहरु प्रभाबित भए । शाक्यलाई चार्टर ईन्जिनियरिंग गर्नको लागि बेलायत बोलाए । नेपाल सरकारले शाक्यलाई छात्रवृत्ति प्रदान गर्यो । चार्टर इन्जिनीयरिङ मास्र्टस गरेका व्यवसायिक मान्छेहरुले मात्र पढ्न पाउथे । तर, उनले त्यो सौभाग्य आफ्नो पौरख र क्षमताले पाए । उनी पढाइमा अब्बल दरिए, शिक्षक र विद्यार्थीका माझमा उनी आर्कषणको केन्द्र बने ।
चार्टर इन्जिीनियरिङ सक्ने बित्तिकै शाक्य उतैबाट अमेरिका घुम्न गए । अमेरिकामा नेपालीको नाकमुख देख्न नपाइने बेला थियो त्यो । उनले अमेरिकाको आईटी कम्पनीमै काम शुरु गरे । तलबसुविधा राम्रै थियो तर उनी नेपाल फर्किए । ‘नेपाल नजाउ भनेर धेरैले सम्झाए । तर मेरो मनले मानेन । केही गर्ने सोचले नेपाल फर्के । केही समयपछि फेरी फ्रान्सबाट छात्रवृत्ति पाएँ ।’ नागवेली जीबनयात्रा फुकाउँदै शाक्यले भने ।
दुई बर्षे फ्रान्स बसाइमा शाक्यले माइक्रोप्रोसेसरबाट कन्ट्रोलर र भिडियो कार्ड बनाए । सन् १९७९ मा उनी नेपाल फर्के । नेपालमा पहिलो पटक कम्पुटर बनेको खबर धेरैका लागि पत्यारिलो थिएन । यसै मेसोमा शाक्यलाई रेडियो नेपालले अन्तरवार्ताका लागि बोलायो । उनले रेडियोमा कम्पुटर के हो र कस्तो हुन्छ, कसरी बन्यो भन्ने बारेमा विस्तृत जानकारी दिए । रेडियो नेपालको एकछत्र राज रहेको सो बेला उनको अन्तरवार्ताले धेरैको ध्यान खिच्यो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रत्नशमशेरले उनलाई फोन गरे । शाक्यलाई लिन आयोगको गाडी उनको घरमै आयो । ‘म यस्तो रेडियोमा अन्र्तवार्ता सुन्ने मान्छे नै होइनँ । तर, कम्प्युटर भनेपछि तपाईको अन्र्तवार्ता सुरुदेखि अन्तिमसम्म सुनेँ ।’ राजशी ठाँटका राणाले भेट्न नपाउँदै भने, ‘तपाई भाग्यमानी ।’ राणाले शाक्यलाई देशविदेशमा चिनाउन भुमिका निर्वाह गरे । १९८० मा कम्प्युटर वैज्ञानिकहरुको निमन्त्रणामा उनी अमेरिका हानिए । अमेरिकाको दोस्रो यात्रामा उनलाई जागिर खाने भन्दापनि धेरै सिक्ने हुटहुटी थियो ।
त्यतिबेला एप्पल कम्पनीले जम्मा ८० किलोबाइट क्षमताको कम्प्युटर बनाएको थियो । उनले ९०० सय किलोबाईट क्षमताको कम्प्युटर बनाए । अमेरिकामा गएर उनी सबै काममा सफल भए । अमेरिकामा प्रशस्त सम्भावना हुँदाहुँदै उनी नेपाल फर्किए । एकाग्र भएर उनी कम्प्युटर बनाउन लागिपरे । उनले नै नेपालमा देवनागरी लिपीमा लेख्ने कम्प्युटर सन् १९८३ मा बनाए । राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली टाइप गरेर प्रिन्टमा देखाए । त्रिचन्द्र कलेजमा प्रर्दशनीमा आयोजना भयो । त्यहा उनले सबै प्रविधि सित्तैमा देखाईदिए ।
नेपालीमा प्रिन्ट भएको राष्ट्रिय गान देखेर बौद्धिक बर्गमा मानिसहरु ‘यो पो हो कम्प्युटर ? यस्तो पो हुँदोरैछ कम्प्युटर भनेको ?’भनेर अचम्म मान्थे । ‘त्यो प्रर्दशनीमा प्रवेश शुल्क राखेनौँ । पैसा उठाउने लक्ष्य थिएन । हजारौँ मानिसहरुले कम्प्युटर देख्न पाए ।’ शाक्य सन्तुष्टि व्यक्त गर्दछन् ।
शाक्यले देवनागरी लिपीमा लेख्ने कम्प्युटर बनाएको खबर भारतमा पनि चर्चित बन्यो । भारतमा कम्पुटर बनेको थिएन । देवनागरिक र भारतीय लिपी उस्तै भएकाले उनका लागि भारतबाट आग्रह आउन थाल्यो । ‘अमेरिका छाडेर आएको म भारतले बोलाउँदैमा किन जान्थे, गइनँ ।’ शाक्यले हास्दै भने, ‘नेपालमा बनाउने भारतमा निर्यात गर्ने हो भन्ने लाग्यो ।’ उनलाई अहिले नेपाल र भारतको अन्तर देख्दा विस्वास नै लाग्दैन । ‘सरकारले साथ दिएको भए दक्षिण एसियाको धेरै देशहरुले नेपालबाट कम्प्पुटर खरिद गर्थे । कोरियाबाट काम गर्न नेपाल आउथे । नेपाल यो अवस्थामा नै रहने थिएन ।’ उनले मनको बह व्यक्त गरे ।
सरकारसँग उनले कम्पुटर परियोजनाका लागि आग्रह गरिरहे । योजना प्रस्तुत गर्दै गए । हुँदैन भनिएन तर सहयोग पनि गरिएन । केही सिप नलागेपछि उनी एक्लै तम्सिए । सन् १९८५ मा उनले हाइटेक पायोनियर नामको कम्पनी खोले ।
त्यसको १२ वर्षपछि उनले सन् १९९७ मा जेएनआइसिटी नामको इन्टरनेट सेवा प्रदायक कम्पनी खोले । उनले यो भन्दा अगाडी कम्प्युटर म्यानुफ्याक्चर कम्पनी सन मुन कम्प्युटर इन्डस्ट्री चलाईसकेका थिए । हातले नै कम्पुटर बनाउथे शाक्य । सन् १९९५ मा करोडौँ खर्चेर उनले कम्पुटर बनाउने मेसिन भित्राए ।
‘हात्तिजत्रो मेसिन आएको भनेपछि कर्मचारीले अनेक केरकार गरे । ‘चुरोट, रक्सी बनाउने मेसिनको चाही जम्मा ५ प्रतिसत भ्याट लिने । जसले समाज बिर्गाछ । राम्रो काम गर्न ल्याको मेसिनलाई किन १५ प्रतिसत ?’ शाक्यले प्रश्न गरे । कर्मचारी के मान्थे ?अनेकौँ प्रयासपछि उनले ५ प्रतिसत कर तिरेर यन्त्र काठमाडौँ ल्याए ।
उनले सो मेसिन ल्याउँदा अनामनगरमा एकाध लाखमा रोपनी पाइन्थ्यो । मेसिन ल्याउन खर्चेको पैसा उनले जमिनमा हालेको भए अरबौँको हुन्थ्यो । यस्तै भन्नेहरु धेरै छन् । तर, ज्ञानका प्यासी उनलाई पैसासँग यन्त्रको तुलना गर्न मन लाग्दैन । उनले करिब डेढ दर्जन हार्डवेयर र सफ्टवेयर उत्पादन गरेका छन् । उनले एउटै कम्प्युटरमा भएको कामलाई दुईसयभन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास गरेका छन ।
शाक्यले बनाएका अन्य थुप्रै रोचक प्रविधिहरुमा मानवसरहको रोबर्ट, सेक्युरिटी यन्त्र उपकरण र अरु थुप्रै कम्प्युटर पार्ट्सहरु रहेका छन् । ए ब्रेन अफ कम्प्युटर, बुफेल्लो कम्प्युटर, सुपर कम्प्युटर, नेपाली रोबर्ट्स उनले निर्माण गरेका केही उत्कृष्ट नमुनाहरु हुन् । उनको सुपर कम्पयुटर १६ वटा कम्युटर एकै ठाउबाट चल्थ्यो । यो कम्प्युटर अत्यन्तै पावरफुल थियो । पछिल्ले समय उनले बनाएको ग्रिन कम्प्युटर थोरै पावरमा चल्ने अर्थात सोलारबाट पनि चल्ने थियो ।
ग्रिन कम्प्युटरलाई लिएर थुप्रै टेक्नोलोजीका मानिसहरुले अबको जमाना ग्रिन कम्प्युटरको जमाना समेत भने । उनले कम्प्युटर निर्माण गरी कृषि विकास बैंकलाइ २० ओटा र अरु आइएनजिओलाइ केही कम्प्युटर बेचे । उनको उत्पादन उच्च गुणस्तरिय भएतापनि सरकारले स्वदेशी वस्तु प्रोत्साहनलाई ध्यानमा राखेन । उनको कम्प्युटरको गुणस्तरीयमात्र थिएन, आयातित कम्पुटरभन्दा ३० प्रतिसत सस्तो थियो । विदेसी कम्प्युटरको प्रवेशसंगै उनको उत्पादन ओझेलमा पर्न गयो । राष्ट्रको ईज्वतको रुपमा चिनिएका शाक्यको प्रतिभाको सम्मान कुनै पनि सरकारले गरेन ।
यसैबीच उनले २० वाट भन्दा कम विद्युत खपत गर्ने ग्रिन कम्प्युटरको विकास गरी कालीकोट लगायतका केही जिल्लामा टेलिमेडिसिन समेत सञ्चालन गरिरहेका छन् । बोलेको कुरा कम्प्युटरले आफै लेख्ने सिस्टमको विकास उनले सन् १९८६ मा नै गरेका थिए ।
पानी खोल्न, बत्ति बाल्न र निभाउन, रेडियो बजाउन, बन्द गर्न छुनै नपर्ने, शाक्यले यी सबैकुरा आफ्नो आवाजबाटै गर्थे । उनले हालसम्म भ्वाइस रिकग्निसन सिस्टम, भ्वाइस डिक्सनरी, कम्प्युटर सहायता शिक्षा, नेपाली टु इंगिलस र इंगिलस टु नेपाली डिक्सनरी, विकिरण मनिटर, नेपाली सबटाइटल डिस्प्ले, नेपाली मल्टिमिडियालगायतका प्रोगाम निर्माण गरेका छन् । रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा औधी रुचि राख्ने उनी कुशल तबला वादक पनि हुन् ।
उनी विश्वका विभिन्न १० ओटा भाषा बोल्न सक्छन् । शाक्यको एउटा घर अहिले पनि उनले बनाएका कम्प्युटर र अन्य देशमा बनेका ऐतिहासिक कम्प्युटर सामग्रीहरुको म्युजियम नै छ । नेपालसरकारले अझैसमम पनि उनको जस्तो ऐतिहासिक कम्प्युटरहरु भएको संग्राहलय बनाउन सकेको छैन । उनको म्युजियममा देशका विभिन्न क्षेत्रबाट विद्यार्थीहरु समेत आउने गरेका छन् । सुचना प्रविधिमा योगदान पुर्याएका महाविर पुनलाई समेत शाक्यले आफैले बनाएको १६ वटा कम्प्युटर अत्यन्तै सस्तो दाममा उपलब्ध गराएको बताउछन । भन्छन ‘केही गर्छु भन्नेको लागि मैले गरेकै छु । सबैले गरोस् र केही सिकोस् भन्ने मेरो चाहना हुन्छ ।’
सरकारले उनको कामलाइ सम्मान, सहयोग र प्रोत्साहन गरेर अघि बढ्न नसकेको शाक्यको गुनासो छ । सरकारले केही गरेको भए आइबिएम, माइक्रोसफ्ट जस्ता कम्पनिहरु यहि बन्ने सम्भावना थियो । उनी भन्छन ‘म आफै फ्रान्स, बेलायत, अमेरिकाको ठूल्ठूला अवसर छोडेर नेपालमै केही गर्छु भनेर आएँ । तर, सरकारले कहिल्लै हेरेन । गर्नको लागि नेपालमा धेरै गरें । तर, जति सोचेको थिएँ, त्यो सम्भव हुन दिएनन् । ’
सरकारले बनेपामा आईसीटी पार्क स्थापना गरेको छ । तर, पार्कमा आईटी सम्बन्धी गतिविधि भइरहेको छैन । उपयोगविहिन अवस्थामा छ । शाक्यसँग पार्कलाई गति दिने उपाय छ । उनी आफैँसँग सरकारसँग भएभन्दा धेरै कम्पुटर सामाग्री छन् । उनी भावि पुस्ताका लागि ति सामाग्रीको सुरक्षा होस् भन्ने चाहन्छन् । बृद्धवयमा पनि केही गर्ने धोको साँधेका छन् । ‘सुनिदिने कोही छैन । सुनिहाले बुझिदिने कोही भएन ।’ मलिन स्वरमा शाक्य भन्छन्, ‘सिंहदरबार नजिकै छ । विज्ञान प्रविधि मन्त्रालयपनि छ । तर, यो प्रविधिको युगभन्दा धेरै पर छ ।’
computer scientist first nepali to make computer before the indians muni bahadur shakya