स्वास्थ्य

गर्भवती जाँच गर्न टेलिफोनबाटै निम्ता

गर्भवती जाँच गर्न टेलिफोनबाटै निम्ता

मंसिर १३ । गर्भवती चेकजाँच गराउने मिति नजिकिएपछि गाउँघरका गर्भवती महिलाहरूलाई स्वास्थ्य चौकीबाट फोन आउँछ, ’तपाईंको गर्भ जाँच गर्ने दिन भयो, नबिर्सी आउनुस् है ।’

गर्भवतीहरू स्वास्थ्य चौकीमा आउँछन् । चेकजाँच गराउँछन् । अनि फर्किने बेलामा स्वास्थ्य चौकीले कोसेली स्वरूप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की दिन्छ । स्वास्थ्यकर्मीहरूले सम्झाउँछन, ’अर्कोपटक बेलैमा आउनुहोला ।’

गर्भवतीलाई सुत्केरी व्यथा लाग्यो वा सुत्केरी हुने मिति पुग्यो भने उनीहरूले घरैबाट स्वास्थ्य चौकीमा फोन गर्छन् र स्वास्थ्य चौकीले एम्बुलेन्स पठाउँछ । यो स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गाविसभरिका महिलाहरूका लागि एम्बुलेन्सको खर्च लाग्दैन, बरू स्वास्थ्य चौकीले नै सुत्केरी भइसकेपछि उनीहरूलाई घरैमा लगेर छोडिदिन्छ एम्बुलेन्सबाटै । त्यसको पनि पैसा लाग्दैन ।

यो पश्चिम दाङमा रहेको धनौरी स्वास्थ्य चौकीको ’सुरक्षित मातृ शिशु’ अभियान हो । आमा र बच्चाको राम्रो स्वास्थ्यका लागि स्वास्थ्य चौकीले स्वास्थ्य संस्थामै सुत्केरी गराउने प्रेरणा जगाउन यस्तो व्यवस्था गरेको हो । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका लागि घर नफर्किंदासम्म स्वास्थ्य चौकीले नै दूध, बिस्कुट, चिया, अन्डालगायतका खाजाको समेत व्यवस्था गरिदिएको छ ।

nimta

त्यति मात्रै होइन, सुत्केरी भएर घर फर्किएपछि न्वारानको अवधिसम्म स्वास्थ्य चौकीले स्वास्थ्य स्वंयसेविकाहरू घरमै पठाएर नियमित रूपमा आमा र शिशुको स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको छ । ’यसले गर्दा अरू गर्भवतीलाई पनि स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने चेतना जागेको छ’, धनौरी स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावत भन्छन, ’निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएपछि स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने, नियमित गर्भ जाँच गर्ने महिलाहरू अझैं बढेका छन् ।’ त्यसबापत स्वास्थ्य चौकीले स्वंय सेविकाहरूलाई खाजाको समेत व्यवस्था गरिदिएको छ ।

उनका अनुसार गर्भवती र सुत्केरीका लागि लाग्ने यो खर्चको व्यवस्था स्वास्थ्य चौकीले आन्तरिक रूपमा आफैं व्यवस्था गर्छ । नियमित रूपमा एम्बुलेन्ससमेत चलाइरहेको यो स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानीको केही प्रतिशत रकम गर्भवती र सुत्केरीका लागि खर्च गरेको रावतले बताए । ’यसमा सरकारले अतिरिक्त बजेट दिँदैन, हामीले गाउँमा सुत्केरी चेतना फैलाउनका लागि यस्तो उपाय अपनाएका हौं’, उनले भने, ’कम्तीमा गर्भवती महिलाहरूले आफ्नो र गर्भमा रहेको बच्चाको स्वास्थ्यका बारेमा चेतना पाएका छन् र स्वास्थ्य चौकीमै आएर सुत्केरी हुनेहरू बढेका छन् ।’

२०६९ सालदेखि प्रसूति सेवा सुरु गरेको यो स्वास्थ्य चौकीमा सुरुसुरुमा प्रसूति भवन नहुँदा प्रशासनिक कोठामै सुत्केरी गराइन्थ्यो । त्यत्रो गाविस भरिबाट गर्भ जाँच गराउनसमेत महिनामा एक दुईजना मात्रै महिलाहरू आउने गर्थे । अहिले त्यो क्रम बढेको छ । त्योसँगै त्यहीँ आएर सुत्केरी हुने गर्भवतीको संख्या पनि बढेको छ । रेडक्रस सोसाइटी दाङले प्रसूति भवन बनाउन चार लाख रुपैयाँ सहयोग र्गयो ।

त्यसैमा जिल्ला विकास समिति, गाविस तथा स्वास्थ्य चौकीले समेत केही रकम जोहो गरेपछि अहिले सुत्केरी हुने महिलाहरूका लागि छुट्टै भवन बनेको छ । थोरै बजेटले बनेको त्यो भवन पनि अपुग भइरहेको छ । त्यसमा पनि रेडक्रसले बेलाबेलामा स्वास्थ्य उपचारका सामग्री तथा शिविरहरू सञ्चालनका लागि सहजीकरण गर्दै आएको छ ।

स्वास्थ्य चौकीमा अहिले ल्याब सेवा नहुँदा सुत्केरी गराउँदा केही जोखिम मोल्नुपर्ने हुन्छ । सुत्केरीका लागि सबैभन्दा महत्त्वपूर्ण हुने रगतका लागि ल्याब अनिवार्य हुन्छ । त्यसका लागि पनि स्वास्थ्य चौकीले पहल गरिरहेको निमित्त प्रमुख रावतले बताए । ’हामीले अन्तरिक रूपमै जनशक्तिको व्यवस्थापन गर्ने गरी जनस्वास्थ्यसँग ल्याबका सामग्री माग गरेका छौं’, उनले भने, ’त्यसपछि हामीलाई पनि र सुत्केरीका लागि पनि अझै सजिलो हुनेछ ।’ सुत्केरी गराउन यो स्वास्थ्य चौकीमा विशेष तालिम प्राप्त दुईजना अनमीहरू छन् ।

अन्नपूर्ण पोष्ट

dang Helathpost

विशेष