समाज

“मुलुकमा भ्रष्टाचार मौलायो”

“मुलुकमा भ्रष्टाचार मौलायो”
मंसिर–१३ । नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाम्रो देशमा नीतिगत भ्रष्टाचार, नियोजित भ्रष्टाचार, निर्देशनात्मक भ्रष्टाचार, आर्थिक भ्रष्टाचार तथा भौतिक एव्म सामाजिक भ्रष्टाचार गरी पाँच प्रकारका भ्रष्टाचार अत्यधिक मौलाएको सो सस्थाले जनाएको छ । सो अवसरमा भ्रष्टाचार, घुसखोरी, कालोबजारी, राजस्व छलीजस्ता अनुचित क्रियाकलापबाट हुने रकम मुलुकको ढुकुटीमा बचत गराउने आफ्नो संस्थाको अन्तिम लक्ष्य भएको संस्थाका अध्यक्ष रामकुमार ठाकुरले बताए । उनका अनुसार, देशको संविधान तथा कानुनको अधिकतम प्रयोग गरी पाँच प्रतिशत मानिसले मात्र फाइदा उठाइरहेको र अरु ९५ प्रतिशत नागरिक तिनै कानुनका कारण पीडा भोग्नु परिरहेका छन् । धनी तथा राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने गरेको आरोपसमेत अध्यक्ष ठाकुरले लगाए । उनले युनिटी लाइफ इन्टरनेसनल कम्पनीका निर्देशक विश्वनाथ गौतम निर्दोष भए पनि विगत ६ वर्षदेखि उनलाई जेलमा राखेकोमा दुःख व्यक्त गरे । निर्देशक गौतमकी पत्नी दीपा गौतमले पतिको रिहाइको माग गर्दै विगत ६ महिनादेखि धर्नामा बस्दै आएको भएपनि कुनै सुनुवाई नभएकोप्रति आक्रोश व्यक्त गरे । कम्पनीका अध्यक्ष काशीप्रसाद गुरुङले सञ्चालक समितिका सबै सदस्य निर्दोष रहेको जिकिर गरे । रासस

Corruption

विशेष