देश स्वास्थ्य

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त
Koshi Anchal
मंसिर - १५ । चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । यही मङ्सिर १२ गते भर्ना भएकी विराटनगर–११ स्थित हाटखोला बस्ने २२ वर्षीया कमला लुइँटेल, अधिकारीकोे १३ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रियाको क्रममा नशा काटिएकाले अत्यधिक रक्तस्राव र दुखाइको कारण उनको मृत्यु भएको पीडित परिवारको आरोप छ । हिजो मङ्गलबार सुत्केरीको अवस्था जटिल भएपछि अस्पतालले थप धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएकामा हिजो साँझ उपचार गर्दै गर्दा उनको मृत्यु भएको मृतकका बाबु नवराज लुइँटेलले जानकारी दिए । कोसी अञ्चल अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएकाले आवश्यक कारबाही र क्षतिपूर्तिको माग राखी पीडित परिवारले आज बिहानदेखि अस्पतालको परिसरमा शव राखेर कारबाहीको माग गरिरहेका छन् । दुवै मृगौंला खराब भएकाले बिरामीको मृत्यु भएको धरानका चिकित्सकले बताए पनि यसअघि कुनै पनि समस्या नभएको बिरामीको मिर्गौला खराब हुनुमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही रहेको मृतकका आफ्न्तको भनाइ छ । सो घटनाको सम्बन्धमा स्थानीय प्रशासनको उपस्थितिमा अस्पताल र पीडित पक्षबीच छलफल भइरहेको र नवजात शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

Koshi Anchal Aspatal

विशेष