समाज

गाउँपालिका माग गर्दै ५०० जनाबाट नागरिकता फिर्ता

गाउँपालिका माग गर्दै ५०० जनाबाट नागरिकता फिर्ता
मंसिर–१५ । छुट्टै गाउँपालिकाको माग गर्दै बझाङकाे काँडा गाविसका स्थानीयबासिन्दाले स्थानीय विकास अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा नागरिकता फिर्ता गरेका छन् । भौगोलिक रुपमा विकट काँडा गाविस देशकै सबैभन्दा ठूलो गाविस भएकाले छुट्टै गाउँपालिका बनाइनुपर्ने माग गर्दै उनीहरु चार महिनादेखि आन्दोलित हुँदै आएका थिए । सरकारले आफूहरुलाई नागरिकताको प्रमाणपत्रबाहेक अन्य कुनै पनि सेवा सुविधा नदिएको र देशकै सबैभन्दा ठूलो गाविसलाई छुट्टै गाउँपालिका सिफारिस गर्न माग गरे पनि कुनै सुनुवाइ नभएपछि सामूहिक रुपमा नागरिकता फिर्ता गरिएको काँडा गाविसका पूर्वअध्यक्ष रणबहादुर बोहोराले बताए । उनीहरुले पहिलो चरणमा ५१५ थान नागरिकताको प्रमाणपत्र फिर्ता गरेका हुन् । “हाम्रो चालचलन रीतिरिवाज र भाषा अन्य गाविसको भन्दा फरक छ, भौगालिक बनोट पनि धेरै ठूलो र विकट छ, छिमेकी गाविससँग मिलाउँदा काँडावासी अधिकारविहीन हुने भएकाले छुट्टै गाउँपालिका माग गरेको हौँ”–काँडा–७ धुलीकी डोल्मा तामाङले भने । काँडावासीका प्रदर्शनका कारण बुधबार चार घन्टा जिल्ला विकास समितिको कामकाज प्रभावित भयो । विरोध प्रदर्शनमा उत्रेका उनीहरुले प्रहरीमाथि पनि पानीको बोतल र ढुङ्गा प्रहार गरेका थिए । यता स्थानीय विकास अधिकारी प्रमोद सिङ्खडाले काँडा गाविसलाई आफूले भनेर छुट्टै गाउँपालिका बनाउन नसकिने प्रतिक्रिया दिए ।

Bajhang Citizenship

विशेष