समाज

सहरी विकासमा जोर राज्यमन्त्री पुग्दा...

सहरी विकासमा जोर राज्यमन्त्री पुग्दा...

मंसिर १६ । सत्तारूढ दल नेपाली कांग्रेसबाट सरकारमा सिफारिस गरिएका १० राज्यमन्त्रीले बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सिफारिसमा परेका राज्यमन्त्रीहरूको शपथग्रहण भएको हो ।

त्यसलगत्तै नवनियुक्त राज्यमन्त्रीहरू आफ्ना सम्पर्कमा रहेका पत्रकारहरूलाई सम्र्पक गर्दै पदभार ग्रहण गर्न तोकिएका मन्त्रालयतिर लागे । त्यसपछि सहरी विकास मन्त्रालयमा भने फरक माहोल बन्यो । त्यहाँ नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचन र मिठु मल्ल आफू नै सम्बन्धित मन्त्रालयको राज्यमन्त्री भएको भन्दै केहीबेर भनाभन गर्दै बसे। त्यसबेला सुवर्ण ज्वारचनको नाम राज्यमन्त्रीको नेम प्लेटमा लेखिएको थियो। तर, मिठु मल्लले आफूले नै सहरी विकास राज्यमन्त्रीको शपथ लिएको भन्दै मन्त्रालयका कर्मचारीलाई नाम टाँस्न लगाइन् । हतारहतार त्यहाँका कर्मचारीले कागजमा नाम प्रिन्ट गरेर मिठु मल्लको नाम टाँसे ।

वास्तविकता के रहेछ भने मंगलबार पार्टीले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा सुवर्ण ज्वारचनको नाम सहरी विकास राज्यमन्त्रीमा रहेको सञ्चार माध्यममा खबर आयो । तर, शपथग्रहणमा भने सम्बन्धित मन्त्रालयमा मिठु मल्लको नाम रहेछ । ‘मैले शपथग्रहण गर्दा सहरी विकास राज्यमन्त्रीको नै गरेकी हुँ ।’ उनले नाम परिवर्तन भएको बारे आफूलाई जानकारी नभएको बताइन् । भनिन, ‘मलाई गाडी तथा पीएसओ तोकिँदा पनि सहरी विकास राज्यमन्त्री भनेर तोकेर नै पठाइएको छ, त्यसअनुसार नै गएको हुँ ।’

सहरी विकास मन्त्रालयका निमित्त सचिव शम्भु केसीले सरकारले मिठु मल्ललाई सहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेर पठाएको र आफूले स्वागत गरेर ल्याएको बताए । उनले नेम प्लेट अर्कैको नाममा टासिएको बारे आफूलाई जानकारी नभएको बताए । कागजमा प्रिन्ट गरेर नाम टाँसिएको थियो नि भन्ने जिज्ञासामा निमित्त सचिव केसीले ढिला गरी शपथ भएकाले नेम प्लेट बनाउन नभ्याएर कागजमा नै प्रिन्ट गरेर टाँसिएको बताए। नवनियुक्त राज्यमन्त्री सुवर्ण ज्वारचनले भने वाणिज्य राज्यमन्त्रीमा शपथ लिएको बुझियो। यस घटनामा मन्त्रालयका बीचमा नै आवश्यक सहकार्य तथा परिपक्वता नभएको देखियो ।

राजधानी

Ministry of Urban Development Mithu Mallla

विशेष