एमालेलाई आफ्नै यो घोषणा र व्यवहार हेर्दा लाज लाग्नुपर्ने होइन र ?


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता कार्यकर्ता टायर बोकेर सडक धाउँदैछन् । सरकारी गाडीलाई निशाना बनाएर लात्ती र ढुंगा हान्दैछन् । नेपाली काँग्रेस र नेकपा माओवादीलाई यसै मेसोमा नाङ्गो बनाउने र सिद्धाउने एकमात्र सुत्रमा लागिरहेका छन् । सन्दर्भ होः पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई अलग गरिएको । तर, एमालेजन आफैँले भुल्दैछन् सो खाका एमालेकै हो । संविधान निर्माण पूर्व तराईका जिल्ला नरहेको नवलपरासीदेखि बर्दियासम्मको प्रदेश एमालेले संवैधानिक समितिमा पेश गरेको थियो । पेश गर्ने अरु कोही होइन, नेकपा एमालेका अध्यक्ष केपी ओली नै हुन् । अहिलेको प्रस्ताव राष्ट्रघाती हो भने यसको एक मुख्य उत्पादक हुन् : ओली ! दोस्रो, एमालेका नेता कार्यकर्ता अहिले बन्द गर्न हौसिएर सडकमा बसेका छन् । केन्द्रबाट नेताहरु ‘तहल्का मच्चाउनुहोस्’ भनेर उस्काइरहेका छन् । प्रतिपक्षको कित्तामा बसिरहँदा एमालेजन आफैँ भुलिरहेका छन् : आफ्नै घोषणा ! संविधानसभा निर्वाचनमा एमालेले सगर्व घोषणा गरेको थियो, ‘हामी कुनै पनि बाहनामा कुनैपनि प्रकृतिको बन्द गर्ने छैनौँ ।’



यसैलाई दृष्टिगत गरी नेकपा एमालेकी नेतृ शान्ता चौधरीले बन्दमा नलाग्न एमालेजनलाई आग्रह गरेकी छिन् । गरिबको चुल्हो निभाएर आफ्नो दुनो सोझाउने प्रवृत्तिका विरुद्ध यि कम्लरी नेतृले मुख खोलेकी छिन् । बालकोटको चौडा जमिनमा आलिसान महलमा बस्ने अध्यक्ष ओलीले आफ्नै प्रस्तावका विरुद्धमा जनता भिडाउन किन खोजिरहेका छन् ? प्रश्न पेचिलो छ । संविधानसभाको दोस्रो निर्वाचन पछि एमालेले धादिङ बन्द गरेको थियो । गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको विरोधमा । चौतर्फी विरोध भएपछि एमालले बन्द फिर्ता गर्न जिल्ला समितिलाई निर्देशन दिएको थियो । चरी काण्डपछि एमाले अहिले फेरि सडकमा टायर बाल्दैछ । बिरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर, बन्द गर्न पाइदैन । कम्तिमा पनि एमालेले पाउँदैन । किनकी यो एमालेकै नीति विरुद्ध छ । एमाले अध्यक्ष ओलीलाई एमालेकै घोषणा पत्र पढाइरहन पर्छ र ? समचार टिप्पणी nepal banda Todfod yemale ko ghosana