समाज

स्वास्थ्य मन्त्रालयको नियुक्तिको मापदण्ड स्वीकृत

स्वास्थ्य मन्त्रालयको नियुक्तिको मापदण्ड स्वीकृत
मंसिर–१६ । लामो समयदेखि खाली रहेका स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद्लगायतमा नियुक्ति तथा मनोनयनको बाटो खुलेको छ । सरकारले बिहीबार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड स्वीकृत गरेपछि यसको बाटो खुलेको हो । स्वास्थ्यमन्त्री गगनकुमार थापालले उक्त निकायमा नियुक्ति तथा मनोनयनलाई व्यवस्थित र प्रभावकारी बनाउन पेस गरेको मापदण्ड सरकारसमक्ष पेस गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल विकास समिति लगायतका पदाधिकारी नियुक्ति र मनोनयन हुन सकेको छैन । मापदण्डले अस्पताल विकास समितिको अध्यक्षको योग्यता निर्धारण गरी कार्यसम्पादन करार गर्ने गरी व्यवस्था गरेको छ । अस्पताल विकास समितिको अध्यक्षको हकमा जिल्ला अस्पतालका लागि स्नातक, केन्द्रीय क्षेत्रीय र अञ्चल अस्पतालका लागि स्नातकोत्तर पास हुनुपर्ने व्यवस्था मापदण्डले गरेको छ । स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले अस्पताल समितिको अध्यक्ष बन्ने व्यक्तिले अस्पताल सुधारका निश्चित योजना र प्रतिबद्धतासहित कार्यसम्पादन करार गर्ने, अस्पताल फार्मेसी सञ्चालन, क्यु व्यवस्थापन, ५ बजेसम्म बहिरङ्ग सञ्चालन, अस्पताल कोषको प्रभावकारी सञ्चालन लगायतका सुधारका विषय प्रष्ट पार्नुपर्ने बताए । अन्य सार्वजनिक निकायमा नियुक्त हुने कार्यकारी प्रमुखले पनि कार्यसम्पादन करार गरी त्यसको प्रतिवेदन नियमित रुपमा पेस गर्नुपर्नेछ । मापदण्डअनुसार कोही व्यक्तिले दोहोरो नियुक्ति र दोहोरो सुविधा लिन पाउने छैन । यसैअनुसार मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशक नारायण ढकाल र वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतलाई सोही मापदण्डका आधारमा नियुक्त गरेको छ ।

health ministry

विशेष