देश

बुटवलमा प्रदर्शनकारी र प्रहरीबीच दिनभर ढुङ्गा हानाहान

बुटवलमा प्रदर्शनकारी र प्रहरीबीच दिनभर ढुङ्गा हानाहान
मंसिर - १६ । सरकारले ५ नं प्रदेश टुक्र्याउने लगायत विषयमा ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रेका युवा र प्रहरीबीच बिहीबार दिनभर ढुङ्गा हानाहान भएको छ । राष्ट्रिय झन्डासहित स्वतःस्फुर्त रुपमा उत्रिएका केही युवाले दिउँसो अस्पताल लाइनमा रहेको माओवादी केन्द्रले बनाएको सहिद स्मारक तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले सुरक्षा दिए पनि प्रदर्शनकारीले पर्खाल तोडेका छन् । तोडफोड रोक्दै गरेका प्रहरीमाथि ढुङ्गा बर्साइएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीले सहिद स्मारकमा राखिएको नेकपा(माओवादी केन्द्र)को चुनाव चिह्नअङ्कित प्रतीक निकालेर सो ठाउँमा राष्ट्रिय झन्डा राखेका छन् । पाँच नं क्षेत्र विभाजनको विरोधमा बिहीबार नेकपा(एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले आह्वान गरेको बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन दिनभरि नै प्रभावित बन्यो । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । बन्दकर्ताको अवरोधपछि भित्री सडकमा समेत सवारी चल्न पाएनन् । बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसंस्था आदि भने दुई दिनदेखि बन्द छन् ।

Butawal Pradesh -5

विशेष