संशोधनमा सबै दुःखी, भारतका राजदूत खुसी, अब भन्नुहोस यो संशोधन कसका लागि रहेछ ?
–ऋषिकेश पोख्रेल
१. पहिलो संविधानसभा – जातीय संघीयताको चर्को दबाब र माओवादीको साथको कारण असफल भयो ।
२. संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान – लामो समयको प्रयत्न र (७ वर्षको निरन्तर) प्रयासबाट निर्माण भयो ।
३. संविधान संशोधन – समयको परिवर्तन र जनताको आवश्यकता अनुरुप हुन सक्छ ।
४. संविधान संशोधन गर्ने कि नगर्ने – भन्ने नेपालीहरुको आत्म निर्णयको अधिकार हो ।
५. कसैद्वारा प्रायोजित र निर्देशित भएर – संविधान संशोधन हुन सक्दैन ।
६. आजको संविधान संशोधन विदेशीको आदेश हो – हामी नेपाली हौ, हामी सार्वभौम छौँ त्यसैले यो संशोधन मान्दैनौ ।
७. संविधान संशोधनका पक्षधरहरु – विदेशीका दास, कारिन्दा र दलालहरु हुन् ।
८. प्रचण्डले संविधानको सर्वस्वीकार्यताको राग अलाप्छन् – तर एमालेलाई बाहिर राखेर खोजेको सर्वस्वीकार्यता कस्तो हो ?
९. अहिले आएका संविधान संशोधनका विषयहरु – कसको माग हो ? कहिले उठाइएका थिए ? र, मागपत्र कहाँ छन् ?
१०. मधेसी दलहरु नै संशोधनप्रति असन्तुष्ट देखिन्छन् – तर, विदेशी राजदूत संविधान संशोधनको प्रस्तावलाई स्वागत गर्दैछन, यो कसका लागि संशोधन हो ?
११. संविधानको धारा २७४ (१) ले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुनेगरी संविधान संशोधन गर्न सकिदैन भन्छ – संशोधन प्रस्तावले यसको मर्ममाथि प्रहार ग¥यो कि गरेन ?
१२. मंसिर १४ गते संविधान संशोधनको विषयमा सम्मानीत सर्वोच्च अदालतले प्रदेशको सीमाङ्कन सम्बन्धी किन अन्तरिम आदेश गर्न नपर्ने भनी सरकारलाई आदेश गर्छ – त्यसै दिन प्रदेशको सीमाना हेरफेर गर्ने गरी सरकार संशोधन प्रस्ताव लान्छ, के यो सम्मानीत अदालत प्रतिको अवहेलना होइन र ? सरकारले नै संविधान र कानूनको धज्जी उडाइरहेको छ ।
१३. हाम्रो राष्ट्रियता भनेको – विविधताबीचको एकता हो
१४. विविधता भनेको – बहुभाषा, बहुधर्म, बहुसंस्कृति, बहुजाति र बहुभूगोल (हिमाल, पहाड र तराई) हो ।
१५. हाम्रो विविधतालाई समाप्त पार्न खोज्नु – राष्ट्रघात हो, सामाजिक सद्भाव खलबल्याएर राष्ट्रलाई विखण्डन गर्ने नियत हो । यो सबै नेपालीले बुझेको छ ।
१६. यो संविधान संशोधनको प्रस्तावले आज ५ नं. प्रदेशबाट तराई अलग्याउन खोज्नु भनेको – राष्ट्रियता माथिको प्रहार र सामाजिक सद्भाव खलबल्याउने र राष्ट्रियतालाई कमजोर पार्ने षडयन्त्र हो ।
१७. दुरगामी हिसाबले अहिले ५ नं. प्रदेशबाट – र, पछि सम्पूर्ण तराईलाई पहाडबाट अलग्याएर मुलुकलाई सिक्किम बनाउने पूर्व तयारी हो । त्यसैले, हामी यो संविधान संशोधनको विरोध गर्छौ, आम नेपालीलाई यसको बिरोधमा उत्रिन आह्वान गर्छौँ र सरकारलाई संविधान संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गर्छौँ ।
१६. कंग्रेस र माओवादीसँग हामी च्यालेन्ज गर्न चाहान्छौँ – तागत भए जनताको माग अनुसारको संशोधन प्रस्ताव अगाडि ल्याऊ ।
क) पाँच प्रतिशतको थ्रेसहोल्डको व्यवस्था हुने संशोधन ल्याऊ
ख) प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको संशोधन प्रस्ताव ल्याऊ
ग) जनताद्वारा प्रत्यक्ष निर्वा्चित प्रतिनिधिहरुमात्र रहने प्रतिनिधीसभा रहने व्यवस्थाको संशोधन ल्याऊ
घ) समावेशी र राजनीतिक प्रतिनिधिहरुको राष्ट्रिय सभा हुने व्यवस्थाको संशोधन ल्याऊ
ङ) ५ वटा विकास क्षेत्रलाई नै ५ वटा संघीय प्रदेश निर्माण गर्ने व्यवस्थाको संशोधन ल्याऊ ।
च) हाम्रा छोरी, बहिनीहरुले वैवाहिक कारणबाट छिमेकी देशमा जुन विधिबाट नागरिकता प्राप्त गर्छन् – त्यही विधी अपनाउने गरी हाम्रो पनि संशोधनको प्रस्ताव ल्याऊ ।
जनताको माग यही छ, आज आम नेपाली जनता यही भन्छन् ! सबैमा चेतना भया ।
(लेखक मोरङका एमाले सांसद हुन् ।)