हङ्कङ भर्टिकल रेसको दोस्रो स्थानमा कर्णालीकी सुनमाया
मंसिर–१७ । हङ्कङमा आयोजित एमएसआइजी लाङ्टाउ भर्टिकल रेस प्रतियोगितमा जुम्ला कर्णालीकी सुनमाया बुढा दोस्रो स्थान चुम्न सफल भएकी छन् ।
हङ्कङमा शुक्रबार सञ्चालन भएको टङ्गफुक बीचदेखि लाङ्टाउ पिकसम्मको ५ किलोमिटर दौड प्रतियोगितामा सुनमाया दोस्रो हुन सफल भएकी हुन् । उनले ५ किलोमिटर दूरीको भर्टिकल रेस ४८ मिनेट ५ सेकेण्डमा पार गरेको कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए । जुम्लाकै पूर्णालक्ष्मी न्यौपाने यो दौड प्रतियोगितामा सातौं स्थानमा आएको अध्यक्ष शाहीले बताए ।
भर्टिकल रेसमा ४५ मिनेट ५९ सेकेण्डमा ५ किलोमिटर दूरी पार गरेर जापानकी योसिजुमी युरी प्रथम आएकी छन् । फ्रान्सकी क्यारोलाइन चाभेरोटले यो दौड प्रतियोगितामा तेस्रो स्थान हात पारेकी छन् । उनले तोकिएको दूरी ५० मिनेट २३ सेकेन्डमा पार गरेको जनाइएको छ ।
hongkong vertical race
sunmaya