पार्टी एकीकरणको मोडलः बाबुराम संरक्षक, उपेन्द्र अध्यक्ष !
सरकारले संविधानको दोस्रो संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गराएसँगै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरे । दुबै पार्टीको वर्गीय, जातिय, क्षेत्रीय, राजनीतिक, सामाजिक र आर्थिक मुद्धामा समान दृष्टिकोण रहेको सन्देश दिने गरी सो विज्ञप्ति जारी गरिएको थियो । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको औचित्यमाथि प्रश्न उठाउँदै जारी गरिएको सो विज्ञप्तिको अर्थ भने फराकिलो थियो । तत्कालका लागि कार्यगत एकता र भविष्यमा पार्टी एकतासम्मको संकेत दिने गरी संयुक्त वक्तव्य जारी गरिएको हो । ‘पार्टी एकता हुनै लागेको हो ?’ प्रश्न सुन्दा बित्तिकै उपेन्द्र यादव मसक्क हासे । उनले भने, ‘छलफल शुरु भएको मात्रै हो । पार्टी भनेको व्यक्ति जम्मा गर्ने मात्रै होइन, विचार मिले कुनै दिन होला ।’ अशोक राईको संघीय समाजवादीसँग एकता गरेपछि उपेन्द्र यादव नेतृत्वको पार्टी तराई केन्द्रीत पार्टीभन्दा माथि उठेको छ । मधेशको मियोका रुपमा फोरम शब्द नत्याग्ने तर राष्ट्रिय पार्टी गठन गर्ने अभियान स्वरुप यादवले राईसँग एकता गरेका थिए । राई र यादवको व्यक्तित्वले पार्टीलाई मधेश र जनजातिसँग जोडेको छ । बाबुराम भट्टराई पनि एउटै पार्टीमा हुँदा खसआर्य, जनजाति र मधेशी व्यक्तित्वको समुच्च पार्टी बन्नेछ । यादव भन्छन्, ‘खस आर्य नेतामा बाबुराम जत्तिको इमान्तार र निष्ठावान अर्को देखिदैन । रणनीतिकार र विचारक बाबुरामसँग एकता गर्न हामीलाई कुनै आपत्ति छैन । विचार मिलेमा पदीय विभाजन कुनै ठूलो कुरा हुने छैन ।’ बाबुराम भट्टराईले नयाँ पार्टी अभियानको थालनी गरेसँगै उपेन्द्रप्रति नजर लगाएका थिए । बाबुरामपनि उपेन्द्रको प्रशंसक हुन् । पद र पैसाका लागि जेपनि गर्ने प्रवृत्ति भन्दा उपेन्द्र अलग रहेको तथा मधेशको मुद्धालाई मूलधारमा ल्याउन भुमिका निर्वाह गरेको भनि बाबुराम उपेन्द्रको सराहना गर्दछन् । उनले पार्टी एकता हुने स्थितिमा आफु पदका लागि असहज नबन्ने सन्देश यादवलाई दिइसकेका छन् । अर्थात बाबुराम र उपेन्द्र एकअर्काका प्रसंशक छँदैछन्, एकअर्काका लागि पदत्याग गर्न पनि तयार छन् । प्रधानमन्त्री भइसकेका र अन्तराष्ट्रिय छबी बनाइसकेका बाबुरामको सम्मानमा आँच नआउने गरी पार्टी एकता गर्नुपर्नेमा दुबै पक्ष सहमत रहेको बताइन्छ । नयाँ शक्तिका नेता खिमलाल देवकोटाले पार्टी एकताका लागि धेरै पहिले देखि छलफल भइरहेको जनाए । पदीय जिम्मेवारीको तहमा छलफल पुगिनसकेको जनाउँदै उनले पार्टी एकतामा भट्टराई मूल नेतृत्वमा रहने दावी गरे । फोरम नेपालका एक नेताका अनुसार मूल नेतृत्वमा को रहने विषय छलफल भइसकेको छैन । उनका अनुसार बाबुराम संरक्षक रहने गरी उपेन्द्र अध्यक्ष बन्ने सम्भावना छ । अर्कोतर्फ संसदीय मोर्चाको नेतृत्व उपेन्द्रले सम्हाल्ने र पार्टीको नेतृत्व बाबुरामले लिने सम्भावनापनि नकार्न नसकिने बताइन्छ । फोरम अध्यक्ष यादवका अनुसार संसदीय चुनाव भइहाले पार्टी एकता वा कार्यगत एकता गरेर भएपनि सँगै जाने सम्भावना छ । ‘राजनीतिमा जे पनि सम्भव हुन्छ । मात्र समयको पर्खाइ ।’ यादव कुटनीतिक जवाफ दिन्छन् ।
र योपनी,
baburam upendra party ekikaran model