प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको भन्दा पनि माओवादी सांसद चुप लागेपछि..........
नेकपा मालेका महासचिव सिपी मैनालीले शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बहुला कुकुरले टोकेको बताए । उनले मधेशको अलग्गै राष्ट्रियता नभएको दृष्टान्त दिँदै प्रचण्डमाथि प्रहार केन्द्रीत गरेका थिए । सोही मेसोमा उनले प्रधानमन्त्री प्रचण्डलाई बहुला कुकुरले टोकेको त होइन भन्दै प्रधानमन्त्रीको मानसिक सन्तुलनप्रति संका गरेका थिए ।
संसदीय मर्यादामा अभिव्यक्ति दिँदा अरुको मानमर्दन गर्न पाइदैन । तर, कसैले त्यसो गरेमा नियमापत्ति गर्न पाइन्छ । आफ्नै पार्टी अध्यक्षमाथि बहुला कुकुरले टोकेको भनि गम्भीर प्रहार भइरहँदा पनि माओवादी सांसद मौन रहे । काँग्रेस सांसद रामहरी खतिवडाले प्रधानमन्त्रीमाथिको आरोपको प्रतिवाद गर्दै नियमापत्ति गरे । त्यति हुँदापनि माओवादी सांसद चालचुल गरेनन् । खतिवडाको नियमापत्तिपछि मैनालीले आफ्नो भनाइलाई पुष्टि गर्न खोजे । फेरी काँग्रेसका सांसदले टेबुल ठटाएर नियमापत्ति गरे । त्यसपछि मात्रै माओवादी सांसदले टेबुल ठोकेका थिए ।
संसदमा माओवादी सांसदको फितलो प्रस्तुती भएकोमा प्रधानमन्त्री प्रचण्डले चित्त दुखाएको बुझिएको छ । माओवादी पोलिटव्यूरो सदस्यले यस बारेमा आजको पोलिटब्यूरो बैठकमा छलफल हुने जनाए । ‘संसदीय मोर्चामा पार्टीको उपस्थिति फितलो भयो । सिपी मैनालीले त्यसो भनिरहँदा हाम्रा सांसद मौन बसे । काँग्रेसले बचाउँन पर्ने अवस्था भयो ।’ उनले चिन्ता गर्दै भने, ‘प्रहारपनि प्रचण्डलाई नै हुने प्रतिकारपनि प्रचण्डले नै गर्नुपर्ने स्थिति निम्तिएको छ । साथीहरुको भुमिका चित्तबुझ्दो भएन ।’
सरकारमा नरहेका तर संसदमा रहेका नेताहरुको भुमिका माथि समेत प्रश्न उठ्न थालेको छ । सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावको पक्षमा माओवादी नेताहरु खरो उत्रन नसकेको र एमालेले हौवा फिँजाएको भन्दै प्रचण्ड दुःखी बनेको स्रोतले बतायो ।