समाज

हवाई दुर्घटना छानबिनका लागि स्थायी संयन्त्र आवश्यक : मन्त्री शाही

हवाई दुर्घटना छानबिनका लागि स्थायी संयन्त्र आवश्यक : मन्त्री शाही
मंसिर–१९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नेपालको आकाश सुरक्षित गर्नका लागि नयाँ ऐन ल्याउन थालेको जानकारी गराएका छन् । मन्त्रालयले अाइतबार ‘नेपाल नागरिक उड्डयन ऐन–२०७३ को प्रस्तावित मस्यौदा’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री शाहीले नयाँ परिवर्तनसँगै हवाई क्षेत्रलाई पनि लैजानु परेकाले ऐन अपरिहार्य भएको बताए । उनले नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नका लागि ऐन परिमार्जन आवश्यक रहेको भन्दै चाँडै मस्यौदामा भएका कमी कमजोरीलाई हटाएर अन्तिम रुप दिनुपर्ने बताए । हवाई दुर्घटनाका प्रत्येक घटनामा नभई एक छुट्टै स्थायी संयन्त्र बनाएर जाँचबुझको काम गर्नुपर्ने र दुर्घटनाका लागि बनाइएका छानबिन समितिका सुझाव अहिलेसम्म कार्यान्वयन नभएकाले स्थायी संयन्त्र बनाएर नै काम गर्नुपर्ने बताए । “अस्थायी संयन्त्र तत्कालका लागि मात्र बनाइएको हुन्छ तर त्यसले दुर्घटनासम्बन्धी खासै काम गर्न सकेको छैन”– उनले भने, “स्थायी संयन्त्र भएपछि त्यसले भविष्यमा हुने दुर्घटनाका सम्भावनाको पनि अध्ययन गर्दछ ।” उनले अन्य क्षेत्रको विकासभन्दा हवाई क्षेत्रको विकास फरक भएकाले व्यक्तिगत चाहना लोभलालचभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । मन्त्री शाहीले हवाई क्षेत्रमा राजनीति हावी भएकाले सुधार हुन नसकेको पनि बताए । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तर्जुमा गरेका नियम कानुनलाई समावेश गरेर ऐन बनाउन थालिएको जानकारी गराए । उनले गैरसैनिक हवाई उडान ऐन–२०१५ र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ लाई एकीकृत गराएर ऐन बनाउन थालिएको बताए । अहिले बनेको ऐनले हवाई क्षेत्रको सेवा प्रदायक र नियमन दुवै काम गर्ने उनले बताए । रासस

air crash ain Jiban Bahadur Shahi

विशेष