‘महाकालीको बिजुली स्याटेलाइटबाट चीनलाई बेच्ने कुरा माधव नेपालको थियो, ओलीको होइन’
–प्रदीप नेपाल
संविधान संशोधनको विषयले अहिले राजनीति तताई रहेको छ । मेरो दृष्टिमा यो बेकारको टाउको दुखाइ हो । यसले न राजनीतिको विकास हुन्छ, न देश र जनताले केही पाउनेवाला छन् । अहिले देशमा जे भइरहेको छ त्यसले देशलाई तानाशाहीतन्त्र तिर लगिरहेको छ । मुलुक चरम अयोग्य व्यक्तिहरुको हातबाट चलिरहेको छ ।
माधवकुमार नेपालले दया नगरिदिएको भए प्रचण्डले सिरहाबाट चुनाव नै जित्दैन थिए । माओवादीहरु नयाँ जनवादको रटान लगाउँछन् तर उनीहरु नयाँ निरंकुशतन्त्र तिर गइरहेका छन् ।
वर्तमान सत्ता हिस्सेदार खेलाडी शेरबहादुर देउवा हुन् । जुन दिन देउवाले ससुरालीको कुरामा लागेर राजाको पाउमा प्रजातन्त्र सुम्पे त्यो दिनदेखि मलाई यी मान्छे हुन् कि कुमान्छे हुन कुनै टिप्पणी नै गर्न मन लाग्दैन ।
मलाई एउटा कुरा चाहिँ अचम्म लागेर आउँछ । यो भारतले राम्रा र नराम्रा मान्छे नै चिन्दैन । लाखौ विद्वान र धेरै थिंक ट्याक पालेर राख्ने भारतले किन यसो गर्छ मैले बुझ्न सकेको छैन । जनताद्वारा तिरष्कृत, हरुवाहरु माओवादी र मधेसीदलहरुलाई किन बोकेको हो अचम्म लागेर आउँछ ।
तर एउटा कुरा चाहिँ के हो भने, नेपालमा जे जति हुन्छ, त्यो भारतकै डिजाइनमा हुने गरेको छ । राजा महेन्द्रले पञ्चायती व्यवस्था पनि भारतकै सल्लाहमा लागू गरेका थिए । दुई तीहाई कांग्रेसको मतलाई फाल्ने सल्लाह महेन्द्रले भारतका प्रधानमन्त्री जवहारलाल नेहरुसँग गरेका थिए । नेपालमा अहिले यो संविधान शंशोधन, सीमांकन आदिबारे जो जो जे बोलिरहेका छन् नी, यी सबैले उतैको इशाराअनुशार बोलेका हुन् । यीनको आफ्नो भन्ने कुनै एजेन्डा छैन । न मधेसीको छ न कांग्रेस माओवादीको छ ।
यो माओवादी भन्ने पार्टी पनि अचम्मकै छ । पार्टी झन झन ओरालो लाग्दै गएको छ । प्रचण्ड सेवक झै जसो जसो भारतले भन्छ त्यसै त्यसै गरिरहेका छन् । किरणको नीति र बाबुरामको योजनाले प्रचण्ड नेता बनेका थिए । अब ती दुई प्रचण्डसँग छैनन् । प्रचण्ड अब आफै त केही पनि होइनन् । पार्टी पनि प्रचण्ड जस्तै बन्दै छ ।
मैले त पाँच–छ महिना अघि एउटा कार्यक्रममा एमालेमा आउनुस वरिष्ठ नेताको पद दिने व्यवस्था मिलाउँछु भनेको थिएँ । तर प्रचण्डले तत्काललाई मोर्चा बनाउनु पर्छ भनेर टारे । मोर्चा के बनाउने होला र माओवादी केन्द्र आफैमा एउटा मोर्चा हो । त्यसमाथि अर्को किन मोर्चा थप्न पर्यो ? पार्टीको नाम नै हेर्नुहोस न ‘ नेकपा माओवादी केन्द्र ।’ केन्द्र भन्ने पनि कुनै पार्टीको नाम हुन्छ ?
अहिले प्रचण्डका कार्यकर्ताले आफ्ना नेताको प्रशंसा गर्ने कुनै लायक अवसर भेटेका छैनन् । तर प्रचण्डलाइ जसरी पनि राजनेता जसरी स्थापित गराउनु पनि परेको छ । तर कसरी स्थापित गराउने ? उनीहरुले जुक्ति निकालेका छन्– केपी ओलीलाई खुइल्याउने । अनि प्रचण्ड आफै राष्ट्रवादी नेतामा स्थापित हुन्छन् ।
यो जुक्ति अनुशार नै माओवादीका कार्यकर्ताले केपी ओलीलाई राजावादी भन्ने गर्छन् । राजाले नै ओलीलाई १६ वर्ष जेलमा सडाए । अनि केपी ओली अझै राजावादी हुन्छन् होला ?
‘प्रचण्डलाई हत्यारा भन्नेहरु हो, केपी ओलीले पनि मान्छे मारेको थियो’ भन्दै हल्ला गर्छन् । केपी ओलीले के के गरे के के गरेनन् भन्न आवश्यक नै छैन अब । किनभने उनले १६ वर्ष त जेल बसि नै सकेका छन् । गरेकै भए पनि सजाय पाएनन् र ? यस्तो सजाय प्रचण्डले कहिले पाउने ?
अहिले संविधान संशोधन र सीमांकनमा केपी ओलीले विरोध गर्यो भनेर कोकोहोला मच्चाएका छन् । अनि ओलीलाई खुइल्याउन के भन्छन् थाहा छ ? ‘मधेसमा दुई प्रदेश बनाउने अहिलेको प्रस्तावित खाका केपी ओलीकै हो । त्यो फेरि ओलीले मानेन । दोगला चरित्र देखायो’ भन्छन् । मेरो प्रश्न, यस्तो प्रस्ताव केपी ओलीको थियो भने प्रस्ताव गरेको बेला यीनीहरुले चाहिँ किन नमानेको त ?
कुरा के हो भने राजनीति गतिशिल हुन्छ । हिजो जे गरियो, जे भनियो, त्यो आजको परिवेशमा हुबहु लागू नहुन सक्छ । हिजो यस्तो र उस्तोको कुरा झिक्न आवश्यक हुँदन ।
महाकाली सन्धि गरेर त एमालेले राष्ट्रघात गरेकै हो नी हैन ? महाकाली सन्धीको प्रस्तावक समर्थक कांग्रेस र राप्रपा थियो । सबैभन्दा बढी योगदान पशुपति शमशेर राणाको छ । त्यो बेला एमाले विपक्षी दल थियो । एमालेको केन्द्रीय समितिमा म र कमल चौलागाईले विरोध गरेका थियौं । बाँकी सबै महाकालीका मलामी हुन तयार भए । गर्नैै नहुने महाकाली सन्धि गरियो । एमालेले पनि भोट दियो । भारतले त्यसको बदलामा एमालेलाई नै टुक्रयाइदियो । महाकाली नदी अहिलेसम्म ओगटेर राखेकै छ । मित्रराष्ट्र भारतको सक्कली अनुहार यहि हो ।
स्याटलाइटबाट महाकालीको बिजुली चीन बेच्ने योजना केपी ओलीको होइन ? होइन । महाकालीको बिजुली स्याटेलाइटबाट चीनलाई बेच्ने योजनाकार माधवकुमार नेपाल हुन । त्यो कुरा माधव नेपालले बोलका हुन् । केपी ओलीले चाहिँ त्यो बेला २६ अर्ब फाइदा हुन्छ भनेर हिसाब निकाल्ने व्यक्ति हुन् । त्यही बेला पनि मैले लेख नै प्रकाशित गरेर भनेको थिए, ‘यो देशमा प्राविधिकहरुले राजनीति गर्न थाले, राजनीति गर्नेले प्राविधिकको काम गर्न थाले ।’
(एमाले नेता प्रदीप नेपालसँग गरिएको कुराकानीमा आधारित)