'५ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्रिन नदिने'

मंसिर – २० । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेर ५ नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा सोमबार गुल्मीमा जनप्रदर्शन एवं विरोधसभा भएको छ । विरोध प्रदर्शनमा गाउँदेखि सदरमुकाम तम्घासमा आएका हजारौं सर्वसाधारणले प्रदेश टुक्राउनेहरुलाई खवरदारी गर्दै विरोधमा उत्रिएका हुन् । पाँच नम्बरलाई टुक्र्याउने गरी संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा बुधबारदेखि सुरु गरिएको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार जनप्रदर्शन गरिएको हो ।
जिल्लाका सबै राजनीतिक दल, संघ संस्था, सहकारी, आमा समूह सबैले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । विरोधमा आएका हजारौंको प्रर्दशनले सदरमुकामको लाकुरी मञ्चमा जम्मा भएर शहिद चोक, क्याम्पस रोड, नयाँ बजार, पुतली बजार, साहुटोल,पुरानो बजार हुदै महेन्द्र उच्च माध्यमिक बिद्यालयको खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।
बिरोधसभामा बोल्ने अधिकाशं बक्ताहरुले जस्तो सुकै आन्दोलन र त्याग गर्न तयार रहेको भन्दै ५ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्रिन नदिने बताएका थिए । कुनै पूर्व निर्धारित कार्यक्रम अनुसार बालमन्दिरमा आयोजन गरिएको बिरोध सभा आम नागरिकहरुको बढी सहभागी भएपछि महेन्द्र उच्च माध्यमिक बिद्यालयको खेल मैदानमा सारिएको थियो ।
विरोधसभामा तथा आन्दोलनकारीहरुलाई नचाउन तथा आन्दोलनलाई साङगितिक बनाउनका लागि सोमवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको संयोजनमा राष्ट्रिय कलाकारहरु वैकुण्ठ महत, सन्तु थापा,असिम महत, खुम खत्री, महेन्द्र भण्डारी, तुलसिङ रनपछाई, लगायत कलाकारले गीत संगीत मार्फत प्रदेश टुक्राउनेहरुका विरुद्ध खबरदारी गरेका थिए ।
गएको ६ दिनदेखि अनिश्चितकालीन गुल्मी बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । आन्दोलनलाई प्रतेक दिन थप सशक्त वनाउनका लागि नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठको संयोजकत्वमा नौ सदश्यीय आन्दोलन परिचालन समितिको समेत गठन गरेका छन् ।
आन्दोलनका कारण जिल्लाको जनजीवन समेत प्रभावित बन्दै गएको छ । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ रहको छ । सोमवार भएको बिरोध सभा कार्यक्रम पूर्व सासंद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाली काग्रेस गुल्मीका सभापति तथा आन्दोलन परिचालन समितीका सयोजक भुवन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रहरी उपरिक्षक भोला रावलका अनुसार आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिए आन्दोलनलाई ध्यान दिदै सुरक्षा व्यवस्था भने कडा पारिएको उनले बताए ।
- शिवलाल सुवेदी / गुल्मी गुल्मी विरोध संविधान संशोधन प्रस्ताव




- शिवलाल सुवेदी / गुल्मी गुल्मी विरोध संविधान संशोधन प्रस्ताव