समाज

विवाह पञ्चमी सम्पन्न

विवाह पञ्चमी सम्पन्न
मंसिर–२० । प्राचीन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव साेमबार सम्पन्न भएको छ । भारतको अयोध्या तथा राममन्दिरबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव सम्पन्न भएको हो । आइतबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नवदुलही झै सिँगारिएको थियो । जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो । मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरूले गीत गाउने चलन छ । ‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ............................, ‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना.....................’ यस्ता गीतमार्फत बेहुला र जन्तीहरूसँग हाँसो ठट्ठा गर्ने चलन छ । हाँसो ठट्ठाको माध्यम पारम्परिक लोकगीत हुन् । गत मङ्गलबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । रासस

जनकपुर रामजानकी विवाह पञ्चमी

विशेष