समाज

संविधान कार्यान्वयन भए महिलाको अधिकार सुरक्षित : मन्त्री डा महत

संविधान कार्यान्वयन भए महिलाको अधिकार सुरक्षित : मन्त्री डा महत
मंसिर–२० । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान कार्यान्वयन भएमात्र महिलाको अधिकार सुरक्षित हुने बताएका छन् । नेपाल महिला सङ्घले महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा साेमबार आयोजना गरेको ‘नेपालको संविधान २०७२ मा समावेश भएका महिलाका अधिकार र थप गर्नुपर्ने महिलाका सवाल’ विषयक अन्तक्र्रियामा उनले भने – संविधानमा महिलाका अधिकार धेरै समेटेकाले यसलाई कार्यान्वयन गरी अधिकार सुरक्षित गर्न सक्नुपर्दछ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री डा महतले “संविधानले महिलाबारे स्थानीय निकायको निर्वाचनमा ४० प्रतिशत, प्रदेश र केन्द्र तहमा ३३ प्रतिशत अधिकार सुरक्षित गरेको छ” भन्दै “उक्त निर्वाचका लागि चाहिने योग्य उम्मेद्वार छनोटका लागि तपाईहरु लाग्नुहोस् बताए ।” नेपालको कूटनीतिक समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिरहेको स्पष्ट पार्दै उनले भने – सबै जनताको भावनालाई समाधान गर्नका लागि सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाको ठूलो भूमिका रहेकाले महिलालाई राज्यले उचित सम्मान गर्नुपर्ने बताएका छन् । अर्का केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले एउटा महिला पछाडि परे सारा देश नै पछाडि पर्ने हुँदा महिलालाई अगाडि बढाउन माग गरे । केन्द्रीय सदस्य सीता गुरुङले महिला आफ्नो अधिकारका लागि आफैँ सङ्घर्ष गर्नुपर्ने बताए । कार्यक्रममा सङ्घकी अध्यक्ष उमा रेग्मी, सङ्घकी पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेसकी पूर्वकेन्द्रीय सदस्य मीना पाण्डे, नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, सङ्घकी केन्द्रीय सदस्य मञ्जु खाँड, सङ्घ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले महिला हिंसा नरोकिएसम्म महिला अगाडि बढ्न नसक्ने भन्दै महिला हिंसा रोक्न कडा कानुन आवश्यक रहेको बताए। रासस

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत

विशेष