बिद्युत लुकाएर बेच्नेहरुको नाम सार्वजनिक गर्ने मन्त्रीको घोषणा, कुलमानविरुद्ध बोर्ड सदस्यको मोर्चाबन्दी
उर्जामन्त्री जनादर्न शर्माले बिगतमा बिद्युत चुहावट गर्नेको नाम सार्वजनिक गरिने बताएका छन् । नयाँ बिद्युत नथपिएको र पूरानै उत्पादनले लोडसेडिङ अन्त्य प्राय रहेको अवस्थामा हिजोको कमजोरी कस्ले गरेको थियो भन्ने जानकारी जनताले थाहा पाउनुपर्ने स्पष्ट गरेका छन् । नेपालआजसँग कुरा गर्दै शर्माले भने, ‘चारैतिरबाट नाम सार्वजनिक गर्न सुझाव आइरहेको छ । यसका लागि मैले छानबिन गर्न प्राधिकरणलाई भनेको छु । हिजो गल्ती गर्नेहरुले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा म दृढ छु ।’
लेखा समितिमा रहँदा बिद्युत क्षेत्रका बारेमा बुझ्न पाएको बताउँने शर्माले सबैतिरको समन्वय भएमा लोडसेडिङ मुक्तको घोषणा गर्न धेरै समय नलाग्ने दाबी गरे ।
प्राधिकरणमा घिसिङबिरुद्ध मोर्चाबन्दी
मन्त्री शर्माले बिद्युत चुहावट गर्नेको सूची प्रकाशित गर्ने घोषणा गरेसँगै बिद्युत प्राधिकरणमा तहल्का मच्चिएको छ । स्रोतका अनुसार ७ सदस्यीय प्राधिकरण संचालक समितिमा ३ जनाले प्रबन्ध निर्देशक एंव बोर्ड सदस्य सचिव कुलमान घिसिङका बिरुद्ध मोर्चाबन्दी थालेका छन् । कुलमानले मनपरी गरेको तथा बोर्डको वेवास्ता गरेको भन्दै उनीहरुले लिखितरुपमै असन्तुष्टि व्यक्त गरेका छन् । लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज प्याकुरेलले मोर्चावन्दी थालेपछि कुलमानलाई अफ्ठयारो पार्ने रणनीति शुरु भइसकेको अर्थमा हेरिएको छ ।
मन्त्री फेरिने बित्तिकै कुलमान अल्पमतमा पर्ने र काम गर्न नसक्ने अवस्थामा पुग्ने निश्चितजस्तै देखिन्छ । सात सदस्यीय बोर्डमा कुलमान सदस्य सचिव छन् भने उर्जा सचिव अनुपकुमार उपाध्याय अध्यक्ष छन् । अर्थ सचिव शान्तराज सुवेदी र चन्द्र टण्डन सदस्य छन् । चन्द्र टण्डनमात्र पनि कुलमानको विपक्षमा जाँदा उनी अल्पमतमा पर्नेछन् । अध्यक्ष रहने उर्जा सचिव र सदस्य रहने अर्थ सचिव सरकार फेरिएसँगै फेरिनेछन् ।
मन्त्रीको निर्देशनमा प्रबन्ध निर्देशक कुलमानले विगतमा बिद्युत चुहावट गर्नेको फेहरिस्त निकाल्ने तयारी गरेसँगै उनका विरुद्ध मोर्चाबन्दी शुरु भएको प्राधिकरण स्रोतले बतायो । बिगतमा जनतालाई लोडसेडिङमा राखेर उद्योग र विभिन्न घरानालाई बिद्युत दिइएको, विद्युतको विकल्पमा प्रयोग हुने सामाग्रीको विक्री बढाउन कृत्तिम लोडसेडिङ गरिएको आंशका गरिएको छ । सोका बारेमा यथेष्ट छानबीन भए राजनीतिकदेखि कर्मचारीवृत्तका धेरैको भविस्य संकटमा पर्ने बताइन्छ ।
Janardan Sharma Kulman Ghising Laxman Agrawal