समाज

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम
मंसिर–२२ । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी आउनुअघि बिच्छ्याइ सक्नुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४३२ किमीको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन् । अब २३८ किमी पाइप बिच्छ्याउन बाँकी छ । “महाँकालचौर ८० लाख लिटर, बाँसबारी ९५ लाख लिटर, पानीपोखरी ७५ लाख लिटर, बालाजु ७० लाख लिटर र खुमलटार ९५ लाख लिटर क्षमताको पानीपोखरी निर्माण अन्तिम चरणमा पुगेको छ”– उनले भने । काठमाडौँको आरुबारी ८५ लाख लिटर र कीर्तिपुर ६० लाख लिटर एवम् भक्तपुरको टिग्नीमा ३० लाख लिटर क्षमताको पानीपोखरी पनि निर्माण भइरहेको छ । उपत्यकामा नौ पानीपोखरी निर्माण र पाइपलाइन बिच्छ्याउन १३ निर्माण व्यवसायी कम्पनीले काम गरिरहेका छन् । काम छिटोसक्न दैनिक एक हजार ५०० कामदारलाई काम लगाउन निर्माण व्यवसायीलाई भनिएको प्रवक्ता ढकालले बताए । सार्वजनिक यातायातलाई असर नपर्ने गरी थोक वितरण प्रणालीको मुख्य सडकमा पाइप बिच्छ्याउँदा राति काम भइरहेको छ । थोक वितरण प्रणालीको ६० किमी पाइप बिच्छ्याउनुपर्नेमा ३१ किमीमा काम सम्पन्न भएको छ । सुन्दरीजलदेखि चाबहिलसम्म नौ किमी थोक वितरण प्रणालीको काम सम्पन्न भएको छ । विसं २०७४ असोजअघि नै पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने निर्देशनालयको लक्ष्य छ । रासस

मेलम्चीको पानी

विशेष