समाज

इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन निर्देशन

इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन निर्देशन
मंसिर - २२ । भक्तपुरका प्रजिअ एवम् जिल्ला बालकल्याण समितिका अध्यक्ष तेजप्रसाद पौडेलले इँटाभट्टाका काममा बालबालिकालाई नलगाउन व्यवसायीलाई निर्देशन दिएका छन् । उनले बालबालिकालाई श्रममा लगाएको पाइए कानुनबमोजिम त्यस्ता व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिए । जिल्ला बालकल्याण समिति र व्यवसायीबीच आज सम्पन्न छलफलमा प्रजिअ पौडेलले इँटाभट्टामा बाबुआमासँग नआएका बालबालिकालाई प्रवेशमै रोक लगाउन व्यवसायीलाई निर्देशन दिए। उनले अभिभावकविहीन बालबालिका बालमजदुरका रुपमा इँटाभट्टामा काम गर्न आए त्यस्ता बालबालिकाका लागि उचित संरक्षणको छुट्टै व्यवस्था समेत गरिने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले इँटाभट्टामा सञ्चालित भट्टी पसलको अनुगमन गरी बन्द गर्न प्रशासनको ध्यान आकर्षण गरे। उनले बालबालिकालाई श्रममा लगाउने व्यवसायीको कुनै योजना नरहेको र अभिभावकसँगै आउने बालबालिकाको उचित शिक्षादीक्षाका लागि उद्योग आवश्यक सहयोग गर्न तयार रहेको बताए । महिला विकास अधिकारी नीलाकुमारी घिमिरेले छ महिनाभन्दा कम अवधिका सुत्केरीलाई इँटा बनाउने र बोक्ने जस्ता जोखिमयुक्त कार्यमा नलगाउन आग्रह गरे । रासस

इँटाभट्टा बालकल्याण समिति

विशेष