समाज

औपचारिक पोशाक मै प्रहरीबीच हानाहान

औपचारिक पोशाक मै प्रहरीबीच हानाहान
मंसिर २३ । ओखलढुंगा जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । सिद्धिचरण–४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएका थिए । त्यसपछि उनका नजिकका साथीहरू सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली जिल्ला प्रहरीको गाडी लिएर पुगे । त्यहाँको अवस्था सामान्य देखेपछि उनी फर्किए । तर फेरि अर्का सई पशुपति झालाई पक्राउ गरेर ल्याउन आदेश दिएपछि उनको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए । त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय पुर्‍याइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवानहरूलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए । मंगलबार नै प्रहरी प्रमुख डीएसपी मिलन केसी भने हेलिकप्टर चढेर व्यक्तिगत कामका लागि राजधानी गएका थिए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेको प्रहरीहरू आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । कान्तिपुर  

Nepal Police

विशेष