हकिङकाे घाेषणा : यसकारण मानव सभ्यता लोप हुँदैछ
मंसिर २३ । बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक स्टेफन हकिङ अहिलेको समयका महान् भौतिकशास्त्री हुन् । मोटर न्युरोन नामक रोगबाट पीडित हकिङ उच्चस्तरको प्रविधिको सहायताले मात्र संवाद गर्न सक्छन् । तैपनि, ब्रह्माण्डको सृष्टि तथा मानव अस्तित्वबारे उनले लामो समयदेखि गहन विचार पस्कँदै आएका छन् । ७४ वर्षीय यी प्राध्यापकले तीन साताअघि एक हजार वर्षपछि पृथ्वीबाट मानव सभ्यता नै नास हुन सक्ने चेतावनी दिएका थिए । यो आलेखमा हकिङले पृथ्वीको अस्तित्वमा संकट आउनुको कारण र त्यसको समाधानका उपाय पहिल्याएका छन्
क्याम्ब्रिजमा आधारित सैद्धान्तिक भौतिकशास्त्रीका रूपमा मैले मेरो जीवन एउटा असाधारण विशेषाधिकार प्राप्त हैसियतमा बाँचेँ । क्याम्ब्रिज आफैँमा असाधारण सहर हो, जहाँ संसारकै सबैभन्दा महान् विश्वविद्यालयमध्ये एक छ । यो सहरभित्र रहेको वैज्ञानिक समुदाय, जसको म युवा अवस्थामा हिस्सा बनेँ, झन् असाधारण छ ।
र, त्यो वैज्ञानिक समुदायभित्र पनि अन्तर्राष्ट्रिय सैद्धान्तिक भौतिकशास्त्रीको एउटा सानो समूह, जससँग मैले मेरो कार्यशील जीवन बिताएँ, ले त कहिलेकाहीँ आफैँलाई पर्वतशिखाका रूपमा लोभ्याउँछ । त्यसका साथै मेरोे रोगले थोपरेको पीडाका बाबजुद मेरो पुस्तकसँगै हासिल भएको कीर्तिका कारण मलाई यस्तो लाग्छ, मेरो सफलताको शिखर झन्झन् अग्लिँदै छ ।
त्यसैले, हालैका दिनमा अमेरिका र बेलायत दुवैतिर सम्भ्रान्तहरूलाई अस्वीकार गर्ने जुन घटनाक्रम विकास भएको छ, त्यो निश्चय पनि अरूलाई जस्तै मतिर पनि लक्षित छ । बेलायती मतदाताको युरोपेली युनियनको सदस्यता अस्वीकार गर्ने र अमेरिकी जनताको डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिका रूपमा निर्वाचित गर्ने निर्णयलाई हामीले जे सोचे पनि, टिप्पणीकारहरूको दिमागमा चाहिँ यो तिनका नेताबाट परित्यक्त भएको ठान्ने मानिसको आक्रोशको अभिव्यक्ति हो भन्नेमा द्विविधा मान्नुपर्दैन ।
त्यसरी बिर्सिएकाहरूले सबैतिरका विज्ञ तथा सम्भ्रान्तहरूको सुझाब र मार्गदर्शन अस्वीकार गर्न मौका प्राप्त गरेको भन्नेमा धेरै सहमत भएजस्तो देखिएका छन् । म पनि यसमा अपवाद छैन । युरोपेली युनियनबाट बाहिर निस्कने कि ननिस्कने भन्ने विषयमा जनमतसंग्रह हुनुअघि मैले बाहिरिने निर्णयले बेलायतमा वैज्ञानिक अनुसन्धानमा हानि पुर्याउनेछ भनेर सावधान गराएको थिएँ । मैले भनेको थिएँ, युरोपेली युनियनबाट बाहिर निस्कनु एक कदम पछाडि हट्नु हुनेछ । तर, मतदाता, कमसेकम यसको उल्लेखनीय हिस्साले मेरो कुरालाई वास्ता गरेन नै अन्य राजनीतिक नेता, ट्रेड युनियनवादी, कलाकार, वैज्ञानिक, व्यवसायी तथा सेलेब्रिटीले दिएको उस्तै सल्लाहलाई पनि मानेनन् ।
यी दुई निर्वाचनमार्फत् गरिएको छनोटभन्दा अधिक ज्यादा असर त सम्भ्रान्तले कसरी प्रतिक्रिया व्यक्त गर्छन् भन्नेले गर्छ । के हामीले कच्चा लोकप्रियतावादका कारण तथ्यलाई मनन् गर्न असफल भएको भन्दै यी मतलाई अस्वीकार गर्ने त अब ? के तिनले गरेको छनोटलाई किनारा लगाउने वा त्यसमाथि प्रतिबन्ध लगाउन प्रयास गर्ने हो ? मलाई लाग्छ, त्यसो गर्नु भयंकर गल्ती हुनेछ ।
यी मतले उजागर गरेको भूमण्डलीकरणका आर्थिक परिणाम एवं प्राविधिक परिवर्तनको तीव्रताका चासो निश्चित रूपमा बोधगम्य छन् । कलकारखानाको स्वचालनले अहिल्यै परम्परागत निर्माण उद्योगका रोजगारीलाई धराशयी बनाइसकेका छन् । र, कृत्रिम बौद्धिकताको वृद्धिले मध्यमवर्गको रोजगारीको ध्वंसलाई अझ गहिरो गरी विस्तार गर्नेछ । केवल अधिक रेखदेख, सिर्जनात्मक र पर्यवेक्षकीय भूमिकाका रोजगारी मात्र बाँकी रहनेछ ।
त्यसो हुँदा यसले विश्वभरि नै पहिल्यै फराकिलो भइरहेको आर्थिक खाडललाई झन् बढाइदिनेछ । इन्टरनेट र यसलाई सम्भव तुल्याउने प्लेफर्मले सीमित व्यक्तिका असाध्यै साना समूहलाई असाध्यै कम मानिसलाई रोजगार दिएर अत्यधिक नाफा कमाउने अवसर दिनेछ । यो अवश्यंभावी छ । यो प्रगति हो । तर, यो सामाजिक रूपमा ध्वंसात्मक पनि हो ।
हामीले यसलाई वित्तीय दुर्घटना सँगसँगै बुझ्नुपर्छ । वित्तीय क्षेत्रमा काम गर्ने केही सीमित व्यक्तिले असाध्यै धेरै लाभ लिने र बाँकी हामीले तिनको सफलतालाई मान्यता दिने तथा तिनको लोभले हामीलाई भट्काएपछि त्यसको सजाय भोग्ने स्थिति निम्तिएको छ । समग्रमा हेर्दा हामी आर्थिक असमानता अझ बढिरहेको विश्वमा बाँचिरहेका छौँ । धेरै मानिस तिनको जीवनको गुणस्तर खस्किएको मात्र होइन, बाँच्नका लागि कमाउनुपर्ने तिनको क्षमता पनि गुमिरहेको हेर्न विवश छन् । त्यसकारण उनीहरू नयाँ खालको परिस्थिति खोजिरहेका छन् भन्नेमा आश्चर्य मान्नुपर्दैन, ट्रम्प र ब्रेक्जिटले त्यसको प्रतिनिधित्व गरेजस्तो देखिएको छ ।
त्यस्तै, इन्टरनेट र सामाजिक सञ्जालको विश्वव्यापी विस्तारको अनायास परिणामका कारण यी असमानताको कठोर प्रकृति विगतमा भन्दा असाध्यै प्रस्ट रूपमा देखिएको छ । मेरा लागि सञ्चार गर्न प्रविधिको उपयोग गर्न सक्ने क्षमता एउटा स्वतन्त्रता र सकारात्मक अनुभव बनेको छ । योविना म यतिका वर्षदेखि आफ्नो कामलाई निरन्तरता दिन सक्ने थिइनँ ।
यसको अर्थ विश्वका सबैभन्दा समृद्ध भागका सबैभन्दा धनी मानिसको जीवन हातमा फोन हुने सबैभन्दा गरिबका लागि पनि खुला छ, तर दुःखपूर्ण रूपमा । सब–सहारन अफ्रिकामा सफा खानेपानीको सुविधा नभएका क्षेत्रका मानिससँग समेत फोनको सुविधा छ । यसको सोझो अर्थ हुन्छ, तीव्र रूपमा जनसंख्या वृद्धि भइरहेको यो ग्रहका लगभग हरेक मानिस यो असमानताको साक्षी बन्न बाध्य छन् ।
यसको परिणाम असाध्यै सपाट छ : ग्रामीण क्षेत्रका मानिस ठूलो आशाका साथ सहरी तथा अव्यवस्थित बजार क्षेत्रमा प्रवेश गर्नेछन् । तर, धेरैले मोबाइलका स्क्रिनमा देखेजस्तो परिस्थिति पाउनेछैनन् सहरी क्षेत्रमा । त्यसपछि उनीहरू त्यसको खोजीमा विदेश लाग्नेछन् । यसले सुखपूर्ण जीवनको खोजीमा भड्किरहेका आर्थिक आप्रवासीको संख्यालाई अझ विस्तार गरिदिनेछ । यी आप्रवासी जहाँ पुग्छन्, त्यहाँ पूर्वाधार निर्माण तथा अर्थतन्त्र विस्तारमाथि तीव्र दबाब पर्नेछ । परिणामस्वरूप त्यहाँको धैर्यलाई चुनौती पुग्नेछ, राजनीतिक लोकप्रियतावाद बढ्नेछ ।
मेरो विचारमा हामीले साँच्चै विचार पुर्याउनुपर्ने भनेको मानव प्रजातिले मिलेर काम गर्नुपर्ने आवश्यक हाम्रो इतिहासमै सबैभन्दा ज्यादा छ । हामीले असाधारण वातावरणीय चुनौती जस्तै, जलवायु परिवर्तन, खाद्य उत्पादनमा समस्या, अत्यधिक आवादी, अन्य प्रजातिको नाश, सामना गरिरहेका छौँ, संक्रामक रोगमा वृद्धि तथा महासागरहरूको अम्लीकरणको सामना गरिरहेका छौँ ।
समग्रमा तिनीहरू मानवताको विकासमा हामी सबैभन्दा खतरनाक क्षणमा छौँ भन्ने स्मरणपत्र हुन् । हामीसँग अहिले हामी नै बसिरहेको ग्रहलाई ध्वंस गर्ने प्रविधि छ, तर हामीले त्यसबाट उम्कने क्षमता विकास गर्न सकेका छैनौँ । सम्भवतः आगामी केही सय वर्षमा हामी ताराहरूका बीचमा मानव उपनिवेश स्थापित गर्न सक्नेछौँ, तर अहिले हामीसँग केवल एउटा मात्र ग्रह छ र यसलाई बचाउन हामीले मिलेर काम गर्नुपर्नेछ ।
त्यसो गर्न हामीले राष्ट्रभित्र र राष्ट्रबीच अवरोध खडा गर्ने होइन, भत्काउनुपर्छ । त्यसो गर्ने मौका खडा गर्ने हो भने विश्वका नेताहरूले स्वीकार गर्नुपर्छ, उनीहरू असफल भएका छन् र धेरैलाई असफल गराउँदै छन् । केहीको हातमा साधनस्रोत केन्द्रित हुँदै जाँदा अहिलेभन्दा अत्यधिक मात्रामा साझेदारी गर्न सिक्नु आवश्यक छ ।
रोजगारी मात्र होइन, समग्र उद्योग नै लोप हुन लागेको स्थितिमा हामीले मानिसलाई नयाँ विश्वका लागि फेरि सिकाउनुपर्छ र त्यसो गर्ने क्रममा उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्नुपर्छ । समुदाय तथा अर्थतन्त्रले अहिलेको आप्रवासनको मौजुदा स्थितिको सामना गर्न सकिन्न भने हामीले विश्वव्यापी विकासलाई प्रोत्साहन गर्नुपर्छ । लाखौँ आप्रवासीलाई उनीहरूकै जन्मभूमिमा भविष्य छ भनेर प्रोत्साहित गर्ने यो नै एक मात्र बाटो हो ।
हामी यसो गर्न सक्छौँ । म हाम्रो प्रजातिप्रति भारी आशावादी छु । तर, यसका लागि लन्डनदेखि हार्वडसम्मका, क्याम्ब्रिजदेखि हलिउडसम्मका सम्भ्रान्तले विगत वर्षको शिक्षाबाट पाठ लिनुपर्नेछ । सिक्नु विनम्रताको उत्कर्ष हो ।
नयाँ पत्रिका