समाज

ट्याक्सीको विवरण भर्न डेढ महिना लाग्ने

ट्याक्सीको विवरण भर्न डेढ महिना लाग्ने
मंसिर–२३। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भूकम्प प्रभावितलाई वितरण गर्न लागेको नयाँ ट्याक्सीका लागि अझै कम्प्युटरमा तथ्याङ्क राख्ने काम बाँकी रहेको जनाएको छ । भूकम्प प्रभावितले ट्याक्सीका लागि फाराम भरेको चार महिना बित्दासमेत यातायात व्यवस्था कार्यालय वाग्मतीअन्तर्गतको साना–ठूला सवारी शाखाले तथ्याङ्क राख्ने कार्य सम्पन्न गर्न सकेको छैन । सो कार्य सम्पन्न गर्न अझै डेढ महिना लाग्ने कार्यालयका प्रशासन प्रमुख हरि लामिछानेले बताएका छन् । तथ्याङ्क भर्नका लागि दैनिक १४ जना कर्मचारी खटिएको उनको भनाइ छ । कार्यालयले दैनिक चार हजार जनाको विवरण भरिरहेको छ । भूकम्पपीडितको परिचयपत्र नभएका वा दोहोरो फाराम भरेका निवेदन आएका कारण काममा ढिलाइ भएको लामिछानेले बताए । कार्यालयले गत साउन ५ गतेदेखि भदौ २ गतेसम्म सबै वर्गका भूकम्पपीडितबाट नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो । फाराम भर्नेहरुबाट एक हजार ५०० लाई चिट्ठाबाट नाम निकाल्ने तयारी भएको छ । चिट्ठा निकाल्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । नम्बर दर्ताका लागि सहुलियत दिन लागे पनि ट्याक्सी खरिदका लागि भने कुनै निर्णय नभएको कार्यालयले जनाएको छ । रासस

ट्याक्सीको विवरण भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय

विशेष