मुख्य समाचार

कुन नेता कस्को निशानामा परे ? थप्पड, कुर्सीदेखि जुत्तासम्मको श्रृखंला


विस २०६३ पछि नेताहरु बारम्बार कार्यकताबाट झापड र आक्रमणको निसानामा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, सुशील कोइराला (दीवंगत), बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा विभिन्न हिसावले निशाना साँधिएको हो ।
झलनाथ खनाललाई देवीप्रसाद रेग्मीको झापड वि सं २०६७ साल माघ ७ गते नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनले इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए । पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टीका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए । उनले नेताहरुलाई चेत आओस र सुध्रिउन भन्ने उद्देश्यले झापड हानेको बताएका थिए । खनाललाई झापड हानिसकेपछि देशविदेशबाट आएको सहयोगले हाल उनी किराना पसल चलाएर बसेका छन । झापड हानेको २ वर्षपछि उनी माओवादीमा प्रवेश गरेका थिए । उनले झापड हानेको केही हप्तामै झलनाथ खनाल प्रधानमन्त्री भए । खनालले झापडलाई आर्शिवादका रुपमा लिएको भन्दै एक अन्तरवार्तामा हासो गरेका थिए ।
प्रचण्डलाई पदम कुवरको झापड दशैँ, तिहार, छठ, नेपाल सम्बत् आदिको अवसर पारेर माओवादीले चियापान कार्यक्रम आयोजना गरेको थियो । भृकुटी मण्डपमा आगन्तुकलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात मिलाउँदै स्वागत गरिरहेका थिए । उता लाजिम्पाट निवासमा नाति प्रसिद्धको जन्मदिन मनाउने तयारी भइरहेको थियो । प्रचण्ड लाजिम्पाट पुगेपछि परिवारजन मिलेर केक काट्ने योजना थियो । तर, लाजिम्पाटको त्यो उत्सव एकै छिनमा निराशामा बदलियो । केक लुकाइयो । कारण थियो प्रचण्डमाथिको थप्पड । सन्दर्भ हो २०६९ मंसिर १ को । बाग्लुङको राजकुट गाविस वडा नम्बर २ का पदम कुँवरले पूर्वबिद्रोही नेता एंव पूर्वप्रधानमन्त्रीमाथि झापड हानेका थिए । कुँवरको परिवारका सदस्यहरु सशस्त्र द्वन्द्वका क्रममा माओवादी पार्टीमा सक्रिय भएर लागेका थिए । उनीहरुको परिवारको घरसम्पत्ति सुरक्षा फौजले ‘माओवादी आतंककारी’ को भन्दै २०६० सालमा ध्वस्त पारिदिएको थियो । दिदीको पेटमा लागेको गोली निकालिएको थिएन । दिदीलाई जस्तै दाइलाई पनि युद्धले आघात गरेको थियो । मानसिक र शारीरिकरुपमा दाजु असक्त थिए । त्यतिबेला पदमका पिता प्रेमबहादुर माओवादीको बाग्लुङ जिल्ला कमिटीका सदस्य थिए । परिवारका सदस्य जस्तै पदम पनि केही समय जनयुद्धमा हिडेका थिए । द्वन्द्व कालमा उनले माओवादीको विद्यार्थी फाँटमा केही समय काम गरेका थिए । वैदेशिक रोजगारका लागि कतार गएर फर्केपछि उनले प्रचण्डलाई झापड हानेका थिए । आक्रोश विस्फोट भएर झापड हानेको अभिव्यक्ति त्यतिबेला उनले दिएका थिए ।
सुशिल कोईराला माथि प्रवेश बस्नेतको फ्रेम प्रहार विसं २०६८ सालमा कांग्रेस सुभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए । कार्यक्रममा कोइरालालाई सम्मानस्वरुप खादा ओढाउँदै गर्दा अगाडिबाट एक्कासी उनले काठको फ्रेमले हानेका थिए । कोइरालालाई बचाउन खोज्दा दुई जना कार्यकर्ता घाइते भएका थिए । पार्टीभित्रको आन्तरिक विवादको कारण आक्रमण भएको बताइएको थियो । सभापतिलाई आक्रमण गर्ने बस्नेतलाई नेविसंघले दुई वर्षका लागि साधारण सदस्यताबाट समेत निलम्बन गरेको ग¥यो । बस्नेत कोइराला परिवारकै नजिक मानिने कांग्रेस नेता पुरुषोत्तम बस्नेतका भतिजा हुन् ।
झक्कु प्रसाद सुवेदीलाई प्रेमराज देवकोटाको झापड वि सं २०६८ साल बैशाखमा माओवादी सभासद झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झापड हानेका थिए । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल संचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए । आफूले पसल बन्द गरेर भोट हालेको नेताले सविंधान कहिले बन्छ भन्न नसकेको कारणले झापड हानेको भनि देवकोटाले दिएको अभिव्यक्ति चर्चित बनेको थियो ।
बाबुराम भट्टराईलाई सञ्जिव भट्टराईको जुत्ता प्रहार पछिल्लो समय नयाँशक्तिका संयोजक बाबुराम भट्टराई ताकेर जुत्ता फालियो । पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरे । कैलाली नारायणपुरका २९ वर्षीय भट्टराई पृथ्वी नारायण क्याम्पसमा अर्थशास्त्रमा स्नातकोतरमा अध्ययनरत हुन् । घटनालगत्तै प्रहरीले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बगरको हिरासतमा राखेर साँझ उनलाई छोडिदिएको हो । उनले प्रहरी समक्ष नेताहरुले देश विगारेका कारण वितृष्णा जागेकाले जुत्ता हानेको बताए ।
पहिला चर्चापछि पाखा नेतालाई हान्नेहरुको खुब चर्चा गरिन्छ शुरुमा । कतिले त नायकको रुपमा अविरजात्रा समेत गर्ने गर्दछन् । खनाललाई झापड हान्ने देवीरामका लागि सहयोग अभियान नै थालियो । कुँवरको हकमा पनि त्यस्तै भयो । अहिले सञ्जिवलाई स्यावासी व्यक्त गर्नेहरुको संख्या पनि ठूलै छ । कुनै नेतालाई प्रहार गर्दा विपक्षी दलका कार्यकर्ता र राजनीतिप्रति वितृष्णा भएकाहरुले खुबै प्रसंशा गर्ने गर्दछन् । पदम कुँवरलाई प्रचण्डको विपक्षमा कीर्तिपूरमा चुनावसमेत लडाइयो । मोहन बैद्य नेतृत्वको माओवादीले प्रचण्डको छबी धुम्ल्याउन र चुनाव हराउन कुँवरलाई प्रयोग गरेको थियो । नेतालाई प्रहार गर्नेहरुले तत्काल चर्चा पाएपनि दीर्घकालमा उनीहरुप्रति हेर्ने दृष्टिकोण नै बदलिने गरेको देखिन्छ । उनीहरुलाई युज एण्ड थ्रोका रुपमा उपयोग गरिदैँ आएको देखिन्छ । प्रस्तुतिः सागर बुढाथाेकी

झक्कु प्रसाद सुवेदीलाई झापड झलनाथ खनाललाई झापड प्रचण्डलाई झापड बाबुराम भट्टराईलाई जुत्ता प्रहार सुशिल कोईराला

विशेष