समाज

ग्रामीण खानेपानीका लागि प्लम्बिङ तालिम

ग्रामीण खानेपानीका लागि प्लम्बिङ तालिम
मंसिर–२५ । कास्कीको भरतपोखरी तथा निर्मलपोखरी क्षेत्रमा सञ्चालन भएका लिफ्टिङ खानेपानीको सुसञ्चालनमा सहयोग पुर्याउने उद्देश्यका साथ घरेलु तथा साना उद्योग कार्यालय कास्कीको सहयोगमा तीन महिने प्लम्बिङ तालिम दिइएको छ । गत भदौ १५ गतेदेखि तीन महिनासम्म सञ्चालित तालिममा यस क्षेत्रका २४ जना व्यक्तिको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय कास्कीका लेखा अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले तालिमबाट उत्पादित जनशक्तिले यस क्षेत्रको खानेपानी सुसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री जोशीले शुक्रबारै भरतपोखरीस्थित पीछडिएको भैरवटोलका सर्वसाधारणलाई भेटी त्यहाँका समस्याबारे जानकारी लिएका थिए । रासस

कास्की प्लम्बिङ तालिम

विशेष