मुसहरको घरमा प्रधानमन्त्री भट्टराई बास बसे, धेरै कुरा बदलियो, मुसहर बस्ती उस्तै
मंसिर–२५ । चार वर्षअघि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई तामझामका साथ फुलकहा–६ मनहरवास्थित मुसहर बस्ती पसेका थिए । पछाडि परेको मधेसी दलित मुसहरको जिन्दगी नजिकबाट बुझ्न उनले मुसहरकै झुपडीमा रात बिताए । विष्णु सदाको सानो झुपडीमा भुइँमै पराल ओछ्याएर स्ते । गरिबले भोग्दै आएको पीडा महशुस गर्न खोजे ।
प्रत्येक महिनाको अन्तिम शनिबार दलित बस्तीमा रात बिताउने योजनाअनुसार तत्कालीन प्रधानमन्त्री भट्टराई २७ असोज २०६९ सालमा मुसहरको घरमा बास बसेका थिए । विष्णुले ६ हजार रुपैयाँ ऋण काढेर त्यो दिन भट्टराईको स्वागतसत्कार गरेका थिए । मुसहरले आफूले खाने घुडी (शंखेकीरा) को तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार खुवाए । प्रधानमन्त्री भट्टराईको आगमनले आफूहरुको दु ःखको घाउमा मलम लाग्ने आस सँगालेर बसेका थिए मुसहरहरु तर त्यस्तो केही भएन । बस्तीका मुसहरले देखेको सपना केवल सपनामै सीमित रह्यो । पहिलेभन्दा हिजोआज मुसहरको पीडा झनै बल्झिएको छ ।
सामाजिक, आर्थिक र शैक्षिक रुपमा मुसहरको जीवनमा देखिने र अनुभूति गर्ने गरी कुनै ठोस परिवर्तन भएको छैन । बस्तीमा गरिबी, अशिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीजस्ता कैयौँ समस्या ज्युँकात्यूँ छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि रहेको मुसहर बस्तीमा देशका प्रधानमन्त्रीलाई स्वगत गर्न पाउँदा मुसहरहरु जति खुसी थिए तर अहिले त्यो भन्दा बढी दुःखी छन् । चार वर्षको अन्तरालमा पनि मुसहर बस्तीको अवस्था जस्ताको त्यस्तै छ । एक सय २५ परिवार मुसहरको थातथलो गुम्ने खतराले यतिबेला उनीहरु पिरोलिएका छन् । – अन्नपूर्ण दैनिकबाट