खेल

औपचारिक रुपमै एएफसी कपमा सहभागिता समाप्त

औपचारिक रुपमै एएफसी कपमा सहभागिता समाप्त

मंसिर–२५ । अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाहीका कारण थ्री स्टार क्लबको एसियाली फुटबल महासंघ (एएफसी) कपमा सहभागिता समाप्त भएको छ । एन्फाको क्लबलाई समावेश गराउने अनुरोध अस्विकार गरेसँगै प्लेअफ खेल्ने सम्भावना औपचारिक रुपमै समाप्त भएको हो ।

एएफसी कपमा सहभागी हुन नेपाललाई टिम दर्ताका लागि पटक–पटक ताकेता गरे पनि एन्फाले बेवास्ता गर्दा नेपालको प्रतिनिधि थ्री स्टार क्लब दोस्रो दर्जाको प्रतियोगितामा सहभागिताबाट वञ्चित भयो । निर्धारित समयमा क्लब दर्ता नगराएको एन्फालाई थप समय दिनुका साथै चार पटक स्मरण गराउँदा पनि जवाफ नपाएको भन्दै एएफसीले थ्री स्टारको ठाउँमा मंगोलियाको इर्चिम एफसीलाई प्रतियोगितामा समावेश गरेको छ ।

शुक्रबार एन्फाको कार्य समितिको नियमित बैठकमा यही विषयलाई लिएर महासचिव धीरेन्द्र प्रधानको राजीनामा माग गरिएको थियो । बैठकमा प्रधानले आफूबाट गम्भीर त्रुटी भएको स्विकार गरेका थिए ।

भदौमा मंगोलियामा सम्पन्न एएफसी कप प्लेअफ छनौटअन्तर्गत समूह ‘बी’ को च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणलाई छानिएको थियो । समूहको शीर्ष टोली स्वत प्लेअफलाई छानिने प्रष्ट प्रावधान भएपनि नेपाली फुटबलको सर्वोच्च निकायको असावधानीका कारण थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको हो ।

विशेष