काठमाडाैँमा घर र गाडी तर पनि सुकुम्बासीको नाममा वागमतीमा झुपडी
वागमती तथा विष्णुमतीको किनारमा काठमाडाैँमा घर र गाडी भएकाहरु सुकुम्बासी बनेर बसेको पाइएको छ । सुकुम्बासी भन्दै १४६५ गैर-सुकुम्बासी परिवारले जग्गा अतिक्रमण गरेर बसेका छन् । ती मध्ये ९० प्रतिशत गैर-सुकुम्बासी रहेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सुकुम्बासी बस्तीमा भेटिएकी आफूलाई वास्तविक सुकुम्बासी बताउने एक महिला (सुरक्षाको कारणले नाम उल्लेख नगरिएको)ले भन्छिन् - ‘यो बस्तीमा सुकुम्बासी बनेर बस्नेहरुको घर र गाडी भएको हामीले देखेका छौँ । यस्तै धनीहरु सुकुम्बासी बनेर बसेकाले वास्तविक सुकुम्बासीहरु पीडित छन् । हाम्रो नाममा धेरै नै राजनीति भएको छ ।’ उनले सरकारले सुरक्षाको प्रत्याभुति दिएमा त्यस्ता घर र गाडीवाला सुकुम्वासी देखाइदिने बताइन् । वागमती तथा विष्णुमती नदीलाई ढल मुक्त बनाउनका लागि नदी किनारबाट चोभारसम्म ढल निर्माण भइरहेको छ । सुकुम्बासीका नाममा नदी अतिक्रमण गरेर बसेकाहरुका कारण थापाथली र टेकुमा ढल निर्माण प्रभावित भएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुख राजेशप्रसाद सिंहका अनुसार गैर-सुकुम्बासी कारण समस्या जटील बनेको हो । सिंहका अनुसार अधिकांश टहरा भाडामा लगाइएको छ । उनले २ महिनाभित्र नदी क्षेत्र खाली गरिने स्पष्ट गरेका छन् ।
सुकुम्बासीभन्दा हुकुमबासी धेरै सिंहको तर्कसँग असली सुकुम्वासी दाबी गर्नेहरु सहमत छन् । तर उनीहरु नदी क्षेत्र खाली गर्ने समितिको योजनासँग सहमत छैनन् । उनीहरु भन्छन्, - ‘पहिला असली सुकुम्वासीको पहिचान गर्नुहोस् ।अनि नक्कलीलाई कारवाही गर्नुहोस् । ०४५ सालदेखि नै यहाँ बस्दै अाइरहेका छाैँ, हामीलाई अलपत्र पार्न पाइन्न ।’ नाम नबताउने सर्तमा वागमती किनारमा टहरा हालेर बसेका एक युवकले भने, - ‘सुकुम्बासी भनेर कतिपय व्याक्तिले घर टहरा बनाएर भाडामा लगाएका छन् । अतिक्रमण गरेको जग्गा आफ्नो नाममा बनाउनलाई उनीहरुले राजनीतिक शक्तिको समेत उपयोग गरेका छन् । उनीहरुको आफ्नै घर जग्गा छ । यसो भन्दैमा यहाँ भएका सबै नक्कली भन्ने होइन ।’ सुकुम्बासी बस्तीमा भेटिएका राजन विश्वकर्मा आफू सुकुम्बासी नभएको तर्क गर्छन । उनी भन्छन् - ‘गुठीसँग जग्गा किनेकोे हो, त्यतिकै अतिक्रमण गरेर बसेको हाेइन। हामी सुकुम्बासी होइनौँ । हामीले २०४० सालमा नै गुठीसंग पैसा तिरेर जग्गा किनेको हो । गुठीले लालपुर्जा दिन्छु भन्दा भन्दै दिएन । ’ एकातिर तर्कसहित बस्नेहरु छन्, अर्कोतर्फ हठ र लोभले बस्नेहरु छन् । एउटै परिवारले समेत एकभन्दा धेरै टहरा बनाएको पनि पाइएको छ । लालपुर्जा आइहाले रातारात करोडौँको सम्पत्ति थपिने लालचामा वागमतीलगायतका नदी अतिक्रमण गरिएको हो ।
अतिक्रमण भएका क्षेत्रहरु नदी अतिक्रमण भएका क्षेत्रको अध्ययन गरी अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन अनुसार १४६५ परिवारले नदी अतिक्रमण गरेको छ ।
समस्या समाधान भएन बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थापाथली वरपरका क्षेत्रबाट सुकुम्बासी हटाउने प्रयास भएको थियो । तर, विषय राजनीतिकरण हुँदा पार लाग्न सकेन । सरकारले काठमाडौँका नदीमा ढल नमिसाउने नीति लिएको छ । सोका लागि वागमती छेउ छेउबाट २८ किलो मिटर ढल निर्माण भइरहेको छ । थापाथली र टेकुमा नदी अतिक्रमण गरि बनाइएका टहराका कारण ढल निर्माणमा अवरोध भइरहेको छ । प्रस्तुति : सागर बुढाथोकी dhani sukumbasi sukumbasiko name ma jhupadi