लिङ्गका आधारमा गरिने जुनसुकै अपराध लैङ्गिक हिंसा हुन्
महेश्वरी खड्का थापा
‘घर शान्ति नै विश्वशान्तिको आधार दिगो विकास र लैंगीक हिंसा मुक्त समाज’ भन्ने मुल नाराकासाथ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा २०१६ विश्वव्यापी रुपमा मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (१६ दिन) मनाइने यो कार्यक्रम नेपालमा पनि विभिन्न राजनीतिक पार्टी, संघ–संस्था, महिला तथा बालबालिका कार्यालय, सबैखाले गैरसरकारी सस्थाहरुद्वारा आ–आफ्नो तवरले कार्यक्रमहरु सञ्चालन गरे ।
महिला हिंसासम्बन्धी यस्ता कार्यक्रमहरु सञ्चालन भई रहदा झनै हिंसाका घटना बढेका हुन् कि जस्तो देखिनु स्वाभाविक हो किनकि यस्ता कार्यक्रमले जनचेतनामा स्तर वृद्धि गराई घटनालाई उजागर गर्न मद्दत गरेकोछ ।
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध अभियान आजभन्दा ५५ वर्ष अघि ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यमा मेरावत परिवारका तीनवटी छोरी पेट्रिया, मिनर्भा र मारियाले निरन्कुश तानाशाही त्रिजुलो सरकारविरुद्ध सशक्त आन्दोलन थालनी घोषणा गर्न आयोजित सभामा सम्बोधनको तयारीमा रहेका तीन दिदीबहिनीलाई उक्त सरकारले आन्दोलन असफल बनाउन राजद्रोहको आरोपमा पक्राउ गरी ११ महिनाको जेल यातनापछि सन् १९६० नोभेम्बर २५ तारिखका दिन निर्ममतापूर्वक हत्या र्गयो । यस सामुहिक हत्याको घटनाले आन्दोलित भएका उनीहरुका अनुयायिहरु शोकलाई शक्तिमा बदल्दै निरन्कुश तानाशाही त्रिजुलो सरकार सत्ताच्युत गराई डोमेनिकन स्वतन्र गणराज्यको स्थापना गर्न सफल भए । लिङ्गका आधारमा महिलाविरुद्ध गरिएको राजनैतिक हिंसाको रुपमा यो अभियान मनाउन थाले । यसकै एैकेबद्धता स्वरुप डोमेनिकन सरकारसहित अन्य ७४ देशहरुले संयुक्त राष्ट्र संघमा लगेको प्रस्ताव सन १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मत पारित र्गयो । त्यसर्थ नोभेम्बर २५ मा विस्वव्यापी अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस विश्वभरिका महिलाहरुले अभियानको रुपमा मनाउदै आएकाछन ।
यो एउटा राजनैतीक तवरले भएको लैंगिक हिंसा हो भने हाम्रो पितृ सत्तात्मक मुलुकमा छोरीले गर्भैदेखि हिंसाको शिकार हुनुपरेको छ । हुर्किदै गर्दा पराइघरको हाउगुजीले तर्साएर जन्मघरबाटै छोरा र छोरी हुनुको विभेद खडा गरिन्छ । सोहि मानसिकताले जकडिएर रहेको हाम्रो समाज एक्काइसौं शताब्दीमा आइपुग्दा समेत महिला र पुरुषबीचको असमानताको खाडल पुर्न असमर्थ रहेको छ । धार्मिक पुस्तकहरुमा समेत विभेद गरिएको छ । बोक्सिको पगरी महिलाले मात्र गुथ्नु परेको छ । पुरुष बोक्सो कहिल्यै नहुने । ३ वर्षको नाबालिकादेखी ७० वर्षको वृद्धासम्म बलात्कृत हुन्छन् । दाईजोको कारण महिला जल्नुपरेको छ, यी र यस्ता प्रत्यक्ष हुने महिला हिंसा हुन । लैंगिक रुपमा महिला भएर जन्मिएकै कारण सामाजिक, सांस्कृतिक ,आर्थिक, राजनितिक असमानता र भेदभावपूर्ण वयवहारले महिलाले भोग्दै आएको शरीरिक , मानसिक र यौनजन्य हिंसा हुन् ।
महिलालाई आत्मनिर्णयको अधिकार छैन, पिता, पती वा पुत्रको अधिकारमा रहनुपर्छ । गोष्टी, सभा समारोहहरुमा गरिने चर्का भाषणमा महिलालाई देवी समान हुन भन्दै वकालत गरे पनि यो व्यवहारमा लागू भएको पाइदैन । प्रत्येक वर्षको १६ दिन ठूला होटेलहरुमा मनाइने यो अभियान त्यहाँ पुग्न जरुरी छ जहाँ पिल्सिएर रहेका दिदीबहिनीहरुलाई हिंसा के हो ? कति हदसम्म सहने र सहनु पनि पाप हो भन्नेसम्मको जानकारी छैन ।
वास्तवमा भन्नुपर्दा महिलहरुका लागि भनेर आयोजना गरिने चेतनामूलक प्रत्येक कार्यक्रममा पुरुषको पनि समान सहभागीता हुनु अतिआवश्यक छ । पुरुष र महिला दुवैले बुझ्नु जरुरी हुन्छ अनि मात्र व्यवहारमा लागू गर्न सहज हुन्छ नत्र झगडाको बिउ बन्छ । घर, समाज देश र विश्व सम्वृद्धका लागि हामी प्रत्येकले आफ्नो मानसिक सोचमा परिवर्तन ल्याउँन अतिआवश्यक छ । यो हाम्रो भोगाइले प्रष्ट्याएको छ ।
नारी धर्ती हुन जस्तोसुकै जटिलतालाई सहनशिलताले समाधान गर्ने हिम्मत राख्छिन । नारी देवी हुन समाजको आँखामा भासिएर पनि आफ्नो कर्तव्य र मर्यादाको भरपुर पालना गर्छिन । एवम् रितले पुरुषले पनि नारी समान माया, स्नेहा, त्याग, तपस्या र वलिदान क्षमता प्रस्तुत गर्न सक्ने हो भने लैङ्गिक असमानता रहित समाजको सुस्थापना हुनेछ । “जहाँ स्त्रीहरुको सम्मान हुन्छ , त्यहाँ देवताले वास गरेको हुन्छ“–मनु
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा
महेश्वरी खड्का थापा