समाज

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा

मंसिर २६ । जुम्लाकोे लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ ।

स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो । हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिइन । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उनले बताए ।

‘हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ’ – खुसी व्यक्त गर्दै माया कामीले भनिन् । रुप्सी न्यौपानेले महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बताइन । उनलले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप÷सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो स्थानमा पुर्‍याएको बताइन ।

लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिइन । स्वास्थ्य चौकी इञ्चार्ज गुरुप्रसाद चौलागाईंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिए ।

स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–गु्रप/सर्वोदय नेपालको सहभागितामा विधिवत् रुपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिए ।  परम्परागत रुपमा जरो गाडेको कुप्रथा अन्त्यको घोषणा गरिरहँदा यहाँका महिलाले आजको दिनलाई निकै ठूलो खुसियाली र सुखको दिनका रुपमा लिएका थिए ।

विशेष