इतिहासमा आज

ढिकुरपोखरीको धानखेत देखी देशको सर्वोच्च पदसम्म ६३ वर्षीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनी

ढिकुरपोखरीको धानखेत देखी देशको सर्वोच्च पदसम्म ६३ वर्षीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनी

२०११ साल मंसिर २६ गतेको कास्कीको ढिकुरपोखरीको धानखेतमा आमा भवानी दाहालको कोखबाट आजकै दिनमा जन्म भएको थियो ।

प्रचण्ड १७ वर्षको उमेरमै कम्युनिस्ट भइसकेका थिए । उनले २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएपछि उनको राजनैतिक यात्रा सुरु भएको थियो । २०३५ सालमा पुग्दा उनी स–परिवार छाडेर पूर्णकालीन भइ कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी २०३६ सालमा चितवन जिल्ला समितिको सदस्य पदमा निर्वाचित भए ।

२०३८ सालमा पुग्दा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव भइसकेका थिए । पञ्चायती व्यवस्थाले चरम रुप लिँदै गयो । कम्युनिस्ट पार्टी प्रतिवन्धित अवस्थामा थियो । त्यसपछि उनी भूमिगत भए । महासचिव भएको दुईवर्षपछि २०४० सालमा उनी अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष बने । ४१ सालमा पाँचौ महाधिवेशनबाट ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका उनी २०४२ सालमा पुग्दा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य भए । त्यसपछि मोहन बैद्य ‘किरण’ले क्रान्ति हाँक्न सक्ने आँटिला युवा उनलाई देखेपछि २०४६ सालमा महामन्त्री पद छाडेर प्रचण्डलाई ने.क.पा. (मशाल)को महामन्त्री पद सुम्पिदिए ।

विभिन्न टुक्रा टुक्रामा विभाजित कम्युनिस्ट पार्टीहरुबाट नेपालमा क्रान्ति नहुने निष्कर्षमा उनी पुगे र उनले २०४८ सालमा विभिन्न पार्टीहरुलाई एकता गरि ने.क.पा.(एकता केन्द्र) पार्टी गठन गरे । त्यसको उनी महामन्त्री बने । नेपाली कम्युनिस्ट आन्दोलन केवल सत्ताले उपलब्ध गराएको वैधानिक सुविधाभित्र रहेर क्रान्तिको सपना देख्नेहरुको जमात बढ्न थाल्यो । दशकौं वितिसक्दा पनि कम्युनिस्ट आन्दोलनले गति लिन सकेन । त्यसपछि उनले अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको देशमा सशस्त्र क्रान्ति नै गर्ने निधो गरि २०५१ सालमा ने.क.पा.(माओवादी) पार्टी गठन गरे ।

त्यसको उनी महामन्त्री भनेर दिर्घकालीन जनयुद्धको रणनीति तयार गर्न थाले । त्यसपछि २०५२ फागुन १ गते नेपाली इतिहासमा कहिल्यै नभएको युगान्तकारी महाअभियानको सुरुवात भयो । गाउँबाट सहर घेर्ने दिर्घकालीन जनयुद्धमा पुरै देश होमियो । उनीसहितका नेतृत्व टिमलाई टाउकोको मूल्य तोक्नेदेखि आतंकवादीको सूचिमा राख्नेसम्म तत्कालीन सत्तापक्षले गर्यो । त्यसका बावुजुद जनताको साथ र समर्थनमा प्रचण्ड अझै वेगवान गतिमा लम्किरहे । २०५७ सालमा पुग्दा प्रचण्ड दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष बने । २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर बने ।

क्रान्तिको जहाजलाई भूमरीबाट बचाउनुपर्छ भन्नेमा उनी पुगे । त्यसपछि १२ बुँदे सहमति भयो । देशमा सहरी विद्रोह र जनयुद्ध एकसाथ चर्किन थाल्यो । त्यसको फलस्वरुप गद्धिबाट सदाका लागि सामन्तवादका नाइके राजसंस्थाको अन्त्य भयो । प्रचण्ड २५ वर्षे भूमिगत राजनीतिको यात्रा पार गरेर करोडौं श्रमजीवि मानिसको आशाको केन्द्र बन्दै पहिलो पटक २०६३ साल असार २ गते काठमाडौंमा सार्वजनिक भए ।

राजा ढलेपछि देशमा संविधानसभाको निर्वाचन भयो । जनताको अपार साथ र सहयोगमा प्रचण्डको पार्टी पहिलो भयो र प्रचण्ड प्रधानमन्त्री बने । प्रधानमन्त्री भनेको ९ महिनामा जनताको सार्वभौम अधिकारमाथि सेरेमोनियल राष्ट्रपतिबाट हस्तक्षेप भएको भन्दै उनी सहर्ष सत्ता त्यागेर सडकमा आए । जनअपेक्षा अनुकुल देश अघि बढेन । जसको कारण दोस्रो संविधानसभाको निवार्चन भयो । उनी सिरहाबाट विजय भए । उनकै अगुवाईमा केही प्रगतिशील विषेशता सहितको संविधान जारी भयो ।

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी प्रजातन्त्रयता पाँच पटक सत्तामा गएका छन् । जसमध्ये दुई दुई पटक प्रधानमन्त्री हुने उनी एक्ला कम्युनिस्ट नेता हुन् । पहिलो पटक प्रधानमन्त्री हुँदा केही अनुभवजन्य कमजोरीका कारण जनपक्षीय कामहरु गर्न नसकेको स्विकार गर्ने प्रचण्डले यसपटक संविधान कार्यान्वयन सहित विभिन्न जनपक्षीय कामहरु कुशलतापूर्वक गर्ने अपेक्षा जनताले गरेका छन् । उनले आफ्नो क्षमता र पार्टीको अस्तित्व बचाउने यो नै अन्तिम अवसर भएको पनि बताएका छन् ।

Prachanda

विशेष