समाज

‘नेपालमा विकासको अत्यधिक सम्भावना छ’– मन्त्री कार्की

‘नेपालमा विकासको अत्यधिक सम्भावना छ’– मन्त्री कार्की
मंसिर–२९ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालमा विकासको अत्यधिक सम्भावना रहेको हुँदा त्यसका लागि युवा पुस्ताको सक्रियता औँल्याएका छन् । गायक भीषण राईको आधुनिक पप गीतको भिडियो सङ्ग्रह ‘धराने सोल्टिनी’ को बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको जल, जमिन, जडीबुटीलगायत विभिन्न स्रोतसाधन प्रयोग गरेर देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । “अहिलेको नयाँ पुस्ता प्रगतिशील छ, नेपालको गीत सङ्गीतलगायत अन्य विभिन्न क्षेत्रमा समेत यो पुस्ता सक्रिय छ तर त्यसको व्यवस्थापन हुन सकेको छैन, हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ”– सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने । मन्त्री कार्कीले गीत संसारकै सबैभन्दा पुरानो विधा भए पनि नेपालको सन्दर्भमा प्रकृतिबारे अत्यन्त कम मात्रामा गीत लेखिएको तर माया र प्रेमकाबारेमा बढी मात्रामा भएको बताए । मन्त्री कार्कीले गीत सङ्गीतका क्षेत्रमा सरकार र आफ्नो व्यक्तिगततर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘धराने सोल्टिनी’ मा ‘वर्षाैँ बित्यो’, (शब्दःतारा राई, सङ्गीतः ओमप्रकाश राई), ‘यो संसारमा’, (शब्दः अमृत थेबे लिम्बू, सङ्गीतः कृष्णभक्त राई), ‘मलाई मात्र’, (शब्दः काजीमान यक्सो, सङ्गीतः अशोक राई) र ‘आउँदिन आउँदिन’, (शब्दः वासु भट्टराई, सङ्गीतःओम प्रकाश राई) लगायत चारवटा गीत समावेश रहेका छन् । सो अवसरमा गायक तथा सङ्गीतकार शम्भू राईले एमएम एस इन्टरटेनमेन्टले बजारमा ल्याएको धराने सोल्टिनीमा समावेश चारवटै गीतले सबै पक्षलाई छोएको बताएका छन् । गीत सङ्गीतको क्षेत्रलाई राज्यले सम्मान र संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सङ्गीतकार तथा गायक ओमप्रकाश राई, कृष्णभक्त राई र अशोक राईलगायत करिब दुई दर्जन स्रष्टालाई सम्मान गरिएको थियो । रासस

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष