समाज

यसकारण थुनिएकी थिइन माधव कुमार नेपाल पत्नी गायत्री नेपाल टर्कीमा

यसकारण थुनिएकी थिइन माधव कुमार नेपाल पत्नी गायत्री नेपाल टर्कीमा

मंसिर ३० । बीस दिनअघि टर्कीको इस्तान्बुल विमानस्थलमा अपमानपूर्ण ढंगले २० घण्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पत्नी गायत्री नेपाल अझै त्यस घटनाको पीडाले रन्थनिइरहेकी छन् ।

आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ थाहा नपाई केही प्रतिक्रिया सार्वजनिक गरेकी छैनन् ।नेपाल निकट स्रोतका अनुसार अमेरिकाको न्युयोर्कमा मंसिर ११ मा सुरु हुने वल्र्ड पिस फाउन्डेसनको सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्री नेपाल (आचार्य) समित नौजनाको टोली त्यसतर्फ प्रस्तान गरेको थियो ।

काठमाडौंबाट इस्तानबुलसम्म आरामदायी यात्रा गरेको टोलीले त्यहाँ भने कष्ट बेहोर्नुप¥यो । माधवपत्नी गायत्रीको पासपोर्टमा त्यहाँको सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घण्टा थुनिनुपर्यो ।

जसै उनी पति माधवसँगै न्युयोर्क उड्ने टर्किस एअरको जहाज चढ्न निस्किइन, अध्यागमनका कर्मचारीले गायत्रीलाई सोधे, ‘तपाईंको राहदानी हराएको वा चोरिएको थियो ?’ उनले त्यो दुवै नभएको जबाफ दिइन् । उनीहरुले माधव नेपाललाई उक्त नम्बरको राहदानी इन्टरपोलले खोजी गरिरहेको जानकारी दिए ।

माधवले सुरक्षाकर्मीलाई आफू नेपालको पूर्व प्रधानमन्त्री भएको र गायत्री आफ्नो पत्नी भएको बताए तर सुरक्षाकर्मीले उनका कुरा सुनेनन् । वासिङटन डिसीमा भोलिपल्ट पूर्वप्रधानमन्त्री नेपालले भविश्वशान्ति सम्मेलनमा बोल्ने कार्यक्रम थियो । पत्नीलाई इस्तानबुलमै छोडेर उनी अमेरिका उडे ।

माधव उडेको केही समयपछि गायत्री नेपालमा सम्पर्क गर्न सफल भइन् । प्रहरी प्रधान कार्यालय र परराष्ट्र मन्त्रालयमा यो खबर पुगेपछि दुवै निकाय तत्काल जुटे र तीन घण्टामा क्लियरेन्स आयो । अमेरिकी दूतावासले कुटनीतिक राहदानीमा लगाएको पाँचवर्षे भिसामाथि पनि शंका गरिएपछि रातिनै वासिङटन र नेपाल दुवैतिर लिखित र मौखिक रुपमा स्पष्ट पार्नु परेको थियो । भोलिपल्ट २० घण्टापछि बल्ल गायत्री स्तानबुलबाट न्युयोर्क उडेकी थिइन् । अन्नपूर्ण

Gyatri Nepal

विशेष