समाज

जिशिकाद्वारा यस वर्षदेखि शैक्षिक शुल्क लिन पूर्णरुपले बन्द

जिशिकाद्वारा यस वर्षदेखि शैक्षिक शुल्क लिन पूर्णरुपले बन्द
पुस - १ । विगतका वर्षमा विभिन्न गतिविधि तथा व्यवस्थापनका लागि भन्दै जुम्ला जिल्लाका सबै विद्यालयबाट उठाइने शैक्षिक शुल्क यसवर्ष पूर्णरुपले बन्द गरिएको छ। परीक्षा सञ्चालन, प्रश्नपत्र जाँचलगायतका नामले लिइने परीक्षा एवम् शैक्षिक शुल्क लिन यस वर्षदेखि बन्द गरिएको हो। विद्यार्थीबाट शुल्क उठाउने भन्ने कुरा शिक्षा नियमावली विपरीत भएको र यसले विद्यार्थी तथा अभिभावकमा आर्थिक भार परेको भन्ने गुनासोलाई सम्बोधन गर्न जिल्लास्तरीय परीक्षा समितिको बैठकले यस्तो निर्णय गरी शुल्क लिने कार्यलाई पूर्ण निषेध गरिएको शिक्षा अधिकारी कुलबहादुर फडेराले जानकारी दिए। गएका वर्षमा विद्यालय तथा जिल्ला शिक्षा कार्यालयले नियम बिपरित कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालनका लागि प्रतिविद्यार्थी ७ सय रुपैयाँसम्म उठाउने गरेको थियो। विद्यार्थीबाट उठाइएको शुल्क, खर्च हुने शीर्षक तथा व्यवस्थापनको पारदर्शिताका विषयमा जनसमुदायका बीच सार्वजनिक गर्न नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाले पटक पटक जिशिकालाई अनुरोध गरेपनि कार्यालयबाट सुनुवाइ नभएपछि गतवर्ष सो कार्यालयमा खबरदारी र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पेस गरिएको थियो । कार्यालयले हालै गरेको निर्णय महासङ्घका जिल्ला अध्यक्ष बरमबहादुर महतले खुसी व्यक्त गर्दै विगतका वर्षमा विद्यार्थीबाट उठाइएको लाखौँ रुपैयाँ सार्वजनिक नभएसम्म यस्ता मुद्दा उठाईरहने बताए। विद्यालयस्तरबाट दिइने दश जोड दुई र एसएलसी उत्तीर्णको लाब्धाङ्क तथा चारित्रिक प्रमाणपत्रको शुल्क ५ सयदेखि दुई हजार १ सय रुपैयाँसम्म अहिले पनि विद्यालयबाट मनोमानी ढङ्गले लिने गरेको स्थानीय अभिभावकको गुनासो आएपछि सम्बन्धित विद्यालयलाई त्यसो नगर्न र लिइएको शुल्क फिर्ता गर्न निर्देशन दिइसकिएको जिल्ला शिक्षा अधिकारी फडेराले जनाए। रासस

शैक्षिक शुल्क

विशेष