समाज

स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने

स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने
पुस–१ । सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले जानकारी दिए । उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताए । सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् । यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस

सुदूरपश्चिम स्वास्थ्य संस्था

विशेष