खेल

क्रिकेट र फुटबलमा भएको अनियमितताको छानबिन

क्रिकेट र फुटबलमा भएको अनियमितताको छानबिन
पुस–२ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट र फुटबलमा भएको अनियमितता र गैरजिम्मेवारीबारे छानबिनका लागि समिति गठन गरेको छ । राखेपका सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा पााच सदस्यीय समिति गठन गरेको छ । समितिलाई क्रिकेट र फुटबलमा भएको अनियमितता र गैरजिम्मेवारीपनको विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा राखेपका प्रशासन प्रमुख मधुसूदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था प्रमुख डेमबहादुर बस्नेत र राखेप कानुन विज्ञ धनबहादुर बस्नेत रहेका छन् । गएको असोजमा हङकङमा भएको एक महिने प्रशिक्षण र महिला विश्वकप क्रिकेट छनौटमा नेपाल क्रिकेट संघ (क्यान)का प्रशासन प्रमुख छुम्बी लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्नेतले गैरखेलाडी छनौट गरेको र नर्सलाई फिजियोको रुपमा हङकङ लगेको बारेमा समितिले छानबिन गर्ने छ । उक्त प्रतियोगिताका लागि चारजना गैरखेलाडीलाई आर्थिक लाभ लिएर टोलीमा समावेश गरिएको आरोपसहित उजुरी परेको राखेपले जनाएको छ । त्यस्तै राखेपमा दुईदुईजना वरिष्ठ फिजियोथेरापिस्ट र चिकित्सक हुँदाहुँदै स्टाफ नर्सलाई फिजियोको रुपमा लगिएको विषयमा पनि समितिले छानबिन गर्नेछ । यस्तै समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीको गैह्रजिम्मेवारीपनका कारण थ्री स्टार क्लबले एएफसी कपको प्लेअफ खेल्नबाट वञिचत हुनु परेको विषयमा पनि छानबिन गर्ने छ । थ्रीस्टारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतियोगिता खेल्न नपाएको भन्दै ६ करोड रुपयाँ क्षतिपूर्ति माग गरी अनियमितताको छानबिन गरि दोषी उपर कारवाही गर्न निवेदन समेत दिएको छ ।

अनियमितता राष्ट्रिय खेलकुद परिषद् (राखेप)

विशेष